संगठित अन्तर्राष्ट्रिय तस्करीमा वंशलद्वय
साउन ८ काठमाडौँ । गोविन्द वंशल जेएसएस ग्रुप पार्ट बिजिनेसका अध्यक्ष एवम् सिइओ हुन् । उनैका भाइ हुन् मोहन वंशल । यी दुवै दाजुभाइ अन्तर्राष्ट्रिय तस्करका रूपमा रहेको हालै प्रहरीले गरेको एउट अप्रेसनले उजागर हुन पुगेको छ ।
यी दुवै अन्तर्राष्ट्रिय तस्करका रूपमा रहेका वंशल दाजुभाइसँग प्रहरीका उच्च तहका अधिकृतहरूको समेत नजिकको उठबस, भेटघाट र आर्थिक लेनदेनसमेत हुने गरेको तथ्य खुलेको छ । तिनै प्रहरी अधिकृतहरूको संरक्षणमा यी वंशल दाजुभाइले आफ्नो तस्करी धन्दालाई संरक्षण गर्दै आएको समेत अनुसन्धानको क्रममा खुलेको छ । झापाको धुलाबारीलाई आफ्नो बेस बनाएर यी दाजुभाइले अन्तर्राष्ट्रियरूपमा तस्करीधन्दा मच्चाउँदै आएका थिए ।
null
चाइनाबाट मेसिन ल्याई सानेपामा गोदाम राखी भारतीय दक्ष कामदार ल्याई बजारमा सर्वाधिक बिक्री हुने सामान बनाई नेपालका अलावा भारत र बंगलादेश सम्म तस्करी गर्दै आएका थिए । यो तस्करीको सञ्जालको सूचना पाएपछि ललितपुर प्रहरीका प्रमुख एसएसपी रवीन्द्र धानुकले विश्वासिलो टिम पठाई तस्करीको सञ्जाल चलाउँदै आएका वंशल दाजुभाइको गोदाममा छापा मार्न पुग्यो ।
छापा मार्ने क्रममा दुई वटा गोदामबाट झण्डै आठ करोडभन्दा बढीको भन्सार चोरी छली गरी ल्याइएको तस्करीको सामान बरामद गरेको एसएसपी धानुकले जानकारी दिए । ललितपुर प्रहरीले अवैधरूपमा नक्कली मेमोरी कार्ड र पेनड्राइभ बनाउने गिरोहलाई पक्राउ गरेको हो । आठ करोडभन्दा बढीको अवैध सामाग्रीसहित सात जनालाई पक्राउ गरेको छ ।
एसएसपी धानुकका अनुसार ललितपुरको सानेपाबाट तीन भारतीयसहित सात जना पक्राउ परेका हुन् । तर, उक्त कार्यमा संलग्न सञ्चालकद्वय गोविन्द वंशल र मोहन वंशल फरार छन् । वंशलद्वयले सानेपामा जेएसएस मोबाइल कलेक्सन सेन्टर खोलेर घरको कोठाभित्र मेसिनबाट सामसुङ कम्पनीको नक्कली पेनड्राइभ र मेमोरी कार्ड उत्पादन गर्दै नेपाललगायत भारत र बंगलादेशमा समेत तस्करी गर्दथे ।
सानेपामा रहेको जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मार्दा ५ करोड बराबरका ती अवैध सामानहरू फेला पारेको हो । पक्राउ परेकाहरूको बयानका आधारमा ललितपुर प्रहरीले सानेपाकै अर्को गोदाममा छापा मार्दा झण्डै ४ करोड बराबरको अवैध मेमोरी कार्ड, पेनड्राइभ, क्यामेरा र मोबाइलमा प्रयोग हुने सामाग्रीहरू बरामद गरेको एसएसपी धानुकले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चीनबाट मेसिन ल्याएर नेपालमा अवैधरूपमा उत्पादन गरिएका मेमोरी र पेनड्राइभमा सामसुङको होलोग्राम टाँसेर भारत र बंगलादेशमा वंशलद्वयले तस्करी गर्ने गर्दथे ।
उनीहरूले दैनिक २५ लाखबराबरको सामग्री उत्पादन गर्ने गरेको अनुमान एसएसपी धानुकको छ । वंशलद्वयले चाइनाबाट १ देखि ८ जिबीसम्मका मेमोरी कार्ड ल्याएर ३२ र ६४ जिबीको छाप लगाएर बजारमा बिक्री गर्दै आइरहेको समेत खुलेको छ । सानेपामा उत्पादन गरिएका ती सामानहरू उनीहरूले झापाको बिर्तामोड पुर्याएर त्यहाँबाट भारत र बंगलादेश पुर्याउने गर्दथे ।