कांग्रेस नेता नवीन्द्रराज जोशीलाई हृदयाघात
“काठमाडौँ, साउन १६ । कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई हृदयाघात भएपछि एन्जियोप्लास्टी गरिएको छ । शनिबार बिहान अचानक छाती दुःखेपछि उनी शिक्षण अस्पताल मनमोहन कार्डियोभास्कुलर सेन्टर भर्ना भएका थिए ।
जोशीको आइतबार डा.रत्नमणि गजुरेलले सफलतापूर्वक एन्जियोप्लास्टी गरेका थिए । पूर्वउद्योगमन्त्री जोशीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।
जोशीको उपचारमा संलग्न डा.रत्नमणि गजुरेलका अनुसार उनी शनिबार बिहान ८ बजे छातीको देब्रेपट्टि दुखेको भन्दै अस्पताल भर्ना भएका थिए ।
सुरुमा स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नदेखिएपछि आइतबार जोशीको स्वास्थ्यबारे चिकित्सकहरूले थप परीक्षण गरेका थिए । ‘उहाँको पातलो ज्यानको शरीर छ, तर पातलो भन्दैमा हृदयाघात नहुने भन्ने हैन । उहाँलाई मुटुमा समस्या गराउने अन्य रोग देखियो,’ डा.गजुरेलले भने ।”