भीम रावलको प्रश्नः सरकार र सिके राउतबीचको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? (भिडियोसहित)

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए । सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । 

उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र संमृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’ 

साक्षात्कारमा बोल्दै उनले भने,‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें । तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन् । उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’ 

null

 

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए । उनले भने,‘राउतजीले नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्रयाउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने,‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’ 

उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’ 

रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमत संग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए ।  

हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ । आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे । उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ?’ 

रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले भने,‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’ 

राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको पनि सुनाए । उनले थपे,‘उहाँले कतैपनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन् । अहिलेपनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्छ्याप्ती पाईन्छन् ।’ 

रावलले हिजोको सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्नेपनि सुनाए । उनले भने, ‘सामान्य अर्थमा भन्ने हो भने नाम नै पार्टीको काम हो, यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ । नाम मात्रै भन्ने हो भने हाम्रो पार्टीको नाम पनि भृकुटीमण्डप पार्टी राखे भैहाल्यो नि ।’ उनले समग्रमा हिजोको सहमति त्रुटीपूर्ण रहेको दावि गरे ।  

हिजोको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई बैद्यता त प्रदान गर्दैन भन्दै उनले प्रश्न गरे । उनले भने,‘कतिपय कुराको परिणाम तत्काल आउँदैन् । ५, १० र २० वर्षपछि परीणाम आउँछन् ।’  

उनले यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे । ‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एक÷दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’ उनले भने । 

रावलले सहमतिबारे पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने माग गरे । उनले थपे,‘यस विषयमा बहस हुनुपर्छ । यसले भोलि सिँगो राष्ट्र र पार्टीलाई क्षति हुन्छ । र, भोलि देश र जनता नै प्रताडित हुने अवस्था आउँछ ।’ 

उनले आफूले हिजोको ‘सहमति कार्यक्रम’ प्रत्यक्ष प्रशारणमा हेरेको सुनाउँदै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे । उनले भने,‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो । देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो ।’ 

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे । उनले भने,‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्शनिक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ?’ 

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुनेपनि जिकिर गरे । उनले भने,‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ ।’ 

हेर्नुहाेस भिडियाे 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *