वीपीको जग्गामा इजिराइडरको डोजर

कात्तिक १९, धरान । सामान्यतयः अस्पताल छेउछाउ भिडभाड, होहल्ला हुने प्रकारका काम गर्न दिँईदैन । तर, धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्रै एक ब्यापारीक घरानाले फनपार्क बनाउँदैछ । त्यो पनि वीपी प्रतिष्ठानकै जग्गा प्रयोग गरेर ।  

तत्कालिन शाही शासनकालमा मन्त्रिपरिषद्को निर्णयले प्रतिष्ठान हाताभित्र गुठीबाट सञ्चालित डीपो उच्च माविलाई भोगचलन गर्न करिब १३ विगाहा जमिन दिएको थियो । अहिले केहि स्वार्थी समुहले विद्यालयसँगको सेटिङमा त्यहि जग्गा भाडामा लिएर रिसोर्ट र फनपार्क निर्माण गर्न थालेका छन् । स्थानीय इजिराइडर विजनेश ग्रुपले ३० वर्षका लागि विद्यालयबाट जग्गा भाडामा लिएर फनपार्क र रिसोर्ट निर्माण गर्न लागेको हो । अहिले इजिराइडरले उक्त स्थानमा धमाधम डोजर लगाइरहेको छ । 

 

null

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा मनोरञ्जनका लागि फनपार्क निर्माण गर्दा त्यहाँबाट आएको चर्को ध्वनीले विरामीको स्वास्थ्यमा असर पर्ने विज्ञहरुको धारणा छ । यसै गरी फनपार्क भन्ने वित्तिकै मनोरञ्जन, गीत संगित बजाउने स्थलका रुपमा बुझिन्छ । विद्यालयको प्राङगणमै फनपार्क (मेला) सञ्चालन गर्दा विद्यार्थीको पढाईमा समेत प्रत्यक्ष असर गर्ने भएपनि विद्यालयले निजी क्षेत्रलाई जग्गा दिएको छ । 

सरकारबाट भोगअधिकार गर्न भनेर पाएको जग्गा ब्यवसायीक घरानालाई होटल, रेष्टुरेष्ट, रिसोर्ट सञ्चालनका लागि विद्यालयले जग्गा दिएपछि वीपी प्रतिष्ठान समेत चकित परेको छ । ‘त्यो जग्गा हाम्रै हो, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट समेत प्रतिष्ठानलाई नसोधी जग्गा केहि गर्न नपाईने भन्दै निर्माण कार्यमा रोक लगाइएको थियो तर, विद्यालयले अदालत गएर निषेधाज्ञा ल्याएछ, अब हामीहरु अदालत जानेछौं ।’ प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले बताए । ‘विद्यालयले जग्गा प्रयोग गर्दा हाम्रो आपत्ति थिएन तर, अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र शान्ति सुरक्षालाई नै खलल पुग्ने, विरामीको स्वास्थ्य तथा मनोविज्ञानमा प्रत्यक्ष असर हुनेगरी ब्यापारीक प्रयोजनका लागि एकलौटी ढंगले भाडामा दिएप्रति हाम्रो आपत्ति हो ।’ उनले भने । इजिराइडरले भाडामा लिएको उक्त जग्गाको लालपुर्जामा डिपो स्कूलको नाम भने छ । 

 

सरकारले भोगाधिकार उपलब्ध गराउने कार्यनिती २०६२ खारेज गरेर सरकारी जग्गा दर्ता वा लिजमा गराउने सम्बन्धि कार्यनिति २०७२ लागू गरिसकेको अवस्था छ । अहिले सरकारी कुनै जग्गा भोगअधिकार गर्न पाइन्न । लिजमा लिनुपर्छ र, प्रत्येक वर्ष नविकरण गर्नुपर्छ । वीपी प्रतिष्ठानको मातहतमा रहेको उक्त जग्गा तत्कालिन शाही शासनकालमा भोगअधिकारका लागि दिइएको थियो ।  

 

इजिराइडरले प्रतिष्ठान हाताभित्रको तीन विगाहा जग्गा कौडीको भाउमा भाडामा लिएर करोडौं कमाउने दाउ गरेको छ । जसले विद्यालयबाट वार्षिक १८ लाख भाडा बुझाउने गरी ३० वर्षका लागि लिएको छ । अहिले उक्त स्थानमा मेलामा लगाइने रोटेपिङ, नाउ जस्ता सामग्री धमाधम निर्माण भइरहेका छन् । 

२०१० सालमा धरानमा ब्रिटिस गोर्खा घोपा क्याम्प थियो, २०१९ सालमा ब्रिटिस गोर्खा सेनामा कार्यरतहरुका छोराछोरी पढाउनका लागि डिपो स्कूल खोलिएको थियो । पछि घोपा क्याम्प हटेपछि विद्यालयले चर्चेको २८२–९–३ विगाहा जग्गा बीपी प्रतिष्ठानका नाममा नामसारी गर्दा नै उक्त जग्गा विक्रिवितरण गर्न नपाउने भनेको थियो । 

उक्त समय विद्यालयको नाममा २ विगाहा १५ कठ्ठा जग्गा मात्र थियो, तर उसले त्यो भन्दा बढि प्रयोग गर्दै आइरहेको थियो । पछि प्रतिष्ठानले नै सिनेटबाट पारित गरेपछि १३ विगाहा १० कठ्ठा ६ धुर जग्गा डिपो स्कूललाई भोगचलनका लागि दिन भन्दै मन्त्रिपरिषद्ले निर्णय गरिदिएको थियो । यो कुरा २०६२ असार २९ गतेको मन्त्रिपरिषद् निर्णयमा उल्लेख छ ।  

 

चन्द्रबहादुर खापुङ 

स्कूलले प्रयोग गरेको जग्गा भाडामा दिन विद्यालयको सञ्चालक समितिबाट पास गराउने ब्यक्ति हुन् स्कुल सञ्चालक समिति सदस्य चन्द्रबहादुर खापुङ । उनी आफैं इजिराइडरका मालिक पनि हुन । उनका छोरा लोक खापुङ्गको योजनामा प्रतिष्ठान परिसर भित्र फनपार्क बनेको हो । उनी राष्ट्रिय जनमुक्ति पार्टीका प्रभावशाली नेताका रूपमा गनिन्छन् । 

उनले धरानमा इजिराइडर गोल्ड सप, इजिराइडर होटल, इजिराइइडर पानी उद्योग चलाएका छन्, भने, देशका विभिन्न स्थानमा ढुङ्गा खानीसमेत चलाएका छन् । ‘आफैं विद्यालय सञ्चालक समितिमा भएकोले उनकै दवावमा त्यो जग्गा भाडामा दिइएको हो ।’ नाम नबताउने सर्तमा विद्यालयका एक शिक्षकले बताए । यस विषयमा कुरा गर्न विद्यालयका प्राचार्य राजकुमार राईसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *