गर्मीमा छालामा देखिन सक्छ एलर्जीदेखि क्यान्सरसम्म, यसरी ख्याल राखौ !
फागुन १९, काठमाडौं । मौसम परिवर्तनसँगै छालामा विभिन्न समस्याहरु देखा पर्न थाल्छ । जाडो मौसममा छाला फ्रुस्रो हुने, चमक नहुने, पत्रपत्र निस्कने, चायाँपोतो लगायतका समस्या देखिन्छन् ।
गर्मी मौसममा त घामदेखि परै बस्न रुचाउँछन् प्राय मानिसहरु । विशेषगरी टिनएजरहरु । आफ्नो सौन्दर्य मेन्टेन गर्न खोज्ने महिलाहरुलाई सकेसम्म घाममा निस्कनै नपरे हुन्थ्यो भन्ने लाग्छ ।
किनकी गर्मी महिनामा तापक्रम बढी हुन्छ । घामले छालाको रुपरंङ्ग, निखार खोस्छ र यसलाई कालो, रुखो बनाइदिन्छ । चाउरीपना देखा पर्न थाल्छन् । एलर्जी हुने । घमौरा र डण्डीफोरले मुहार कुरुप बनाइदिन्छ ।
घामबाट आउने विकिरण (युभिए एन्ड युभिबी) ले छालामा प्रत्यक्ष असर पार्ने, छाला तथा सौन्दर्य विशेषज्ञ डा. उमा केयल बताउँछिन् । ती विकिरणले छाला डढाउनेदेखि (अर्लि एजिङ सनबर्न) छालाको क्यान्सर समेत गराउन सक्ने हुनाले मौसम अनुसार छालाको विशेष स्याहार सुसार तथा खानपानमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
गर्मी मौसममा छालामा देखा पर्न सक्छन् यस्ता समस्या
छाला धेरै चिल्लो हुँदा डण्डीफोर आउने समस्या छाला तथा सौन्दर्य विशेषज्ञ डा. उमा बताउँछिन् । उनका अनुसार पसिना र चिल्लो छालामा धुलोधुँवा टासिएर डण्डीफोर आउने सम्भावना धेरै हुन्छ ।
गर्मी मौसममा छालाको प्रकार अनुसार घमौरा, चाउरीपना, एलर्जीको समस्या पनि देखिन सक्छ ।
घमौरा धेरैजसो पसिना निकाल्ने ग्रन्थीको मुख बन्द भएर बाहिर निकाल्न नसकेपछि घमौरा आउँछ । विशेषगरी बालबालिकामा घमौरा आउने समस्या धेरै हुन्छ । ‘गर्मीयाममा बालबालिकामा घमौरा आउने सम्भावना बढी देखिन्छ । किनकी उनीहरुको शरीरको पसिना ग्रन्थीको राम्रोसँग विकास भएको हुँदैन । पसिना बाहिर निस्कन नसक्दा घमौरा आउँछ’, डा. उमाले भनिन् ।
घमौराबाट बचाउन सफा राख्नुपर्छ । त्यस्तै पसिना सोस्ने खालको पाउडर लगाइदिने, बच्चाहरुको घाँटीको छाला खुम्चिने, पसिना जम्मा हुने ठाउँ काखीतिर सफा गरिदिने र उसलाई कुल राख्नुपर्ने उनको भनाइ छ ।
गर्मी मौसममा धेरै नुहाइन्छ । यसले पनि समस्या निम्त्याउन सक्ने उनी बताउँछिन् । डा. केयल भन्छिन्– ‘गर्मी याममा धेरै नुहाइन्छ । नुहाउँदा प्रायः साबुनको प्रयोग गरिन्छ, यसको धेरै प्रयोग हुँदा छालामा सुख्पन देखिने र त्यसले दाग–धब्बाहरु आउने, छाला चिलाउने समस्या हुन सक्छ ।’
कसरी गर्ने छालाको स्याहार ? स्वस्थ कसरी राख्ने ?
– प्रशस्त मात्रामा पानी पिउने ।
– छालालाई सफा राख्ने । पसीना धेरै आउने भाग धनुे, पुस्ने ।
–हावा छिर्ने खालका कपडा प्रयोग गर्ने । यसले पसिना धेरै आउने समस्या कम गर्छ ।
–घाममा निस्कदा शरीरका खुल्ला भागमा छालाको प्रकृति तथा चिकित्सकको सल्लाह अनुसार सन्सक्रिम प्रयोग गर्ने । छाता ओढ्ने ।
–एकपटक लगाएको सन्सक्रिनले बढीमा ३ देखि ४ घण्टासम्म मात्र काम गर्छ । त्यसैले सकेसम्म हरेक ३ देखि ४ घण्टामा दोहोर्याएर लगाउनुपर्छ । यसबाट चाँया पोतो एवम् कोठीबाट छालालाई जोगाउन सकिन्छ ।
– चिल्लो पिरो, मसलेदार खाना कम खाने । सन्तुलित भोजन गर्ने ।
– हरियो सागपात, फलफुल बढी खाने ।
– शरीरको सरसफाईमा विशेष ध्यान दिने । क्लिन्जीङ गर्ने । छालालाई उपयुक्त हुने खालको फेसवास प्रयोग गर्ने बिहान र बेलुका । मस्चराईजर प्रयोग गर्ने । सुख्खा छाला हुनेले मस्चराईजर क्रिमको प्रयोग गर्ने, चिल्लो छालाका लागि मस्चराईजर जेलको प्रयोग गर्ने ।
सावधानी !
शरीरमा असामान्य रुपमा रातो डाबर आएमा, एलर्जी वा फंगल इनफेक्सन भएमा तत्काल छाला रोग विशेषज्ञलाई देखाउनु पर्छ ।