घरमै गर्भवतीलाई भिडियो एक्स–रे सेवा उपलब्ध

 

जेठ ५ काभ्रेँ । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । 

नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँच अन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । 

null

गर्भवती महिलाको घरमै भिडियो सेवा सहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताए । उनले भने, “नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन् ।” उनका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ । 

‘गर्भवती घरदैलो सेवा’ कार्यक्रम अन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ । 

त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिए । 

एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ । सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ । 

गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ । 

नपाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताए । 

‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा नगर कार्यपालिका प्रतिनिधि तथा स्वास्थ्य कर्मचारीको सहभागितामा घुम्ती बैठक गरिने भएको छ । “घुम्ती बैठकबाट वडामा देखिएका स्वास्थ्य समास्याबारे छलफल गरी समाधनका उपाय खोजिनेछ”, नपा उपप्रमुख दनुवारले भने । 

१४ वडा रहेको पाँचखाल नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी छन् । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *