जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

साउन १६, जाजरकोट । जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्तरुपमा आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् । कांग्रेस माओवादी गठबन्धनको सहमति अनुसार संयोजक सहित ४ पदमा माओवादी केन्द्रले र उपसंयोजक सहित ५ पदमा कांग्रेसले लिने सहमति भएको नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसीले बताउनुभयो । उहाँले दुई पार्टीबीच भएको सहमति अनुसार नै उम्मेदवारी दिएको बताए ।
त्यस्तै, कांग्रेस र आफ्नो पार्टीबीच भएको सहमतिलाई इमान्दारीता पूर्वक पालना गर्न तयार रहेको  माओवादी केन्द्रका नेता ढकवीर रानाले बताए । उनले दुवै पार्टीले एकसाथ संयुक्त रुपमा पद बाँडफाँड गरेर उम्मेदवारी दर्ता गरिएको बताए । दुई दलको सहमति अनुसार संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र उपसंयोजकमा कांग्रेसका  ज्ञानीप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै, एमालेले पनि कांग्रेस माओवादी गठबन्धन विरुद्ध आफ्नो एकल उम्मेदवारी दिएको छ । एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीका अनुसार संयोजकमा गौरीवहादुर कार्की  र उपसंयोजमा कमलाकुमारी शाहीले उम्मेदवारी दिएकी छन् । जिल्लाका सात वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४ जनाले  जिल्ला समन्व्य समितिको ९ पदका लागि मतदान गर्ने छन् ।
गत वैशाख ३१ गते भएको निर्वाचन अनुसार जाजरकोटमा एमाले दुई नगरपालिकामा प्रमुख उप्रमुख र एक गाउँपालिकामा प्रमुख उपप्रमुख जितेर ६ मतका साथ पहिलो छ । भने,  माओवादी केन्द्रले  एक नगरपालिकामा प्रमुख उपप्रमुख एक गाउँपालिकामा प्रमुख उपप्रमुख र एक गाउँपालिकामा उपप्रमुख जितेर ५ मतका साथ दोस्रो स्थानमा छ । त्यस्तै, कांग्रेस एक गाउँपालिकामा प्रमुख उपप्रमुख र एक गाउँपालिकामा प्रमुख जितेर ३ मतका साथ तेस्रो स्थानमा छ । जिल्लामा २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्लाका अधिकांश गाविसहरुमा चुनाव जितेर पनि नेपाली कांग्रेसले एमाले र राप्रपाको गठबन्धनसँग इलाका सदस्यहरुमा बहुमत ल्याएर पनि जिल्ला विकास समितिमा सभापति र उपसभापति हारेको थियो भने २०५४ को स्थानीय निकायको दोस्रो निर्वाचनमा  जिविस र अधिकांश गाविसहरु एमालेले कब्जा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *