डा. रौनियार ४८ लाख धरौटी बुझाएर रिहा, भजितलाई पनि ४ लाख

 

साउन २०, काठमाडौं । आठ लाख घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ४८ लाख धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । 

प्रतिष्ठानको भवन निर्माणमा ठेकेदारबाट ८ लाख घुस रकम लिँदै गर्दा अख्तियारको फन्दामा परेको उपकुलपति डा. राजकुमार रौनियारलाई आज विशेष अदालतले ४८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

null

उनीसँगै पक्राउ परेका उनका भजित डा. रामहरि रौनियारलाई अदालतले ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अख्तियारको फन्दामा परेका दुवैले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् । 

गत असार २६ गते प्रतिष्ठानका उपकुलपति डा. रौनियार र उनका भतिज रामहरि ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवासबाटै अख्तियारले पक्राउ गरेको थियो ।त्यसपछि डा. रौनियारलाई साउन ९ गते आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो । उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । 

उपकुलपति डा. रौनियारले प्रतिष्ठानमा भवन निर्माणको काम गर्दै आएको श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग घुस लिएका थिए । घुस लिएको संवाद अख्तियारसम्म पुगेपछि आयोगले अनुसन्धान थालेको थियो ।  

प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए। ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख  छ। 

त्यस्तै विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति रौनियारले पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको थियो। अख्तियारमा परेको उजुरीको आधारमा खोजी भइराख्दा उनी घुससहित पक्राउ परेका थिए। 

रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि सुशीलकुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप आठ लाख  घुस–रिसवत माग गरेपछि अख्तियारले रंगेहात पक्राउ गरेको थियो।  सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा रामहरि रौनियार मार्फत उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *