‘युद्धको आवाज चर्किँदै छ, जनताले फेरी दुःख पाउँदैछन्, जिस्किने विषय हो यो ?’
चैत ४, काठमाडौँ । यो मुलुक १० वर्षको युद्धले थलियो । १७ हजार नेपालीले ज्यान गुमाउनुपर्यो । बेपत्ता भएकाहरुको संख्या अझै जोडिएको छैन । घाइतेहरुको संख्या पनि जोडिएको छैन । आन्तरिक रुपमा विस्थापित भएकाहरुको के हालत होला अहिलेसम्म त्यो पनि स्थापित गर्न सकिएको छैन । अनि संक्रमणकालीन न्यायको चक्र पनि सकिएको छैन ।
यस्तो स्थितिमा फेरि अहिले युद्धको स्वर नेपथ्यबाट सुनिन थालिएको छ । फेरि त्यही चक्रलाई दोहोर्याउने कुरा आउन लागेका छन् । यतिखेर दुवै पक्षबाट जोडजोडले स्वरहरु चर्काइँदै छ । संवेग भावका विषय कोही सुन्न तयार छैनन् । गम्भीर विमर्शमा यो मुलुक छैन ।
null
यो स्थितिमा म सबैभन्दा पहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रश्न गर्न चाहन्छु । विप्लव १२ बुँदे सहमतिको हिस्सा हो कि होइन ? जब १२ बुँदे सहमति भएर संविधानसभा निर्वाचित भयो, त्यसमा उहाँको संलग्नता रह्यो कि रहेन ? उहाँले त्यो समयमा सबै पार्टीसँग मिलेर काम गर्नुभएको हो कि होइन ? यी सबै कुराहरु हुँदाहुँदै अब फेरी हतियारको प्रयोग, बिस्फोट, आगजनी, हत्या , चन्दा आतंक लगायतका गतिविधि गरेर फेरि त्यही चक्रमा लाग्ने ?
प्रचण्डले भन्नु पनि भयो, विप्लवको नयाँ खेल होइन, यो त पुरानो खेल हो । यो पुरानो र नयाँको कुरा होइन । मुख्य कुरा के हो भने, नेपाली जनताले फेरी दुःख पाउने भए । एकातिर यस्तो छ । अर्कोतिर सरकारबाट हामीले के अपेक्षा गरेका छौँ भने, शान्ति सुरक्षा कायम गरोस्, आर्थिक समृद्धितर्फ अगाडी बढोस् । तर एकातिर प्रधानमन्त्रीले विप्लवलाई लुटेरा की लुटेरा भनिरहनु भएको छ । अर्कोतिर त्यही सरकारका तर्फबाट राजनीतिक वार्ता गर्न खटिएका टोलीले वार्ता गर्न आह्वान गरिरहेका छन् । अर्कोतिर सत्ता पक्षको तर्फबाट यही संसदमा उनीहरुसँग वार्ता नै गर्नुपर्छ भन्ने आग्रहयुक्त भनाइहरु आइरहेका छन् । यतिबेला कन्ट्रीको स्टेटस कन्फ्युजनमा छ ।
अर्कातिर अध्यक्ष पुष्पकमल दाहालले यो विप्लवको हिट लिस्टमा त म परेँ । मेरो नाम चैँ सबैभन्दा माथि छ भन्नुभयो । आखिरमा यो भएको चैँ के हो ? सरकारले यो जवाफ दिनुपरेन ? स्थिति के हो भनेर ?
हिजोमात्रै प्रधानमन्त्रीले फेरी के भन्नुभएको छ भने, लोकतन्त्रको नाममा आँशु बगाउनेहरु किन विप्लवका लागि रुन खोजिरहेका ? यसरी जिस्किने विषय हो यो ? याे त सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर अब कसरी अघि बढ्ने हो, एक ठाउँमा कसरी बस्ने हो भन्ने बेला हो । त्यसकारण म के देखिरहेको छु भने सरकारको यो बचपनाले राज्यमाथिको भरोसा उठ्दैछ । शान्ति सुरक्षाका प्रसंगमा गम्भीर प्रश्नहरु उठ्दै छन् ।
आफ्ना कुरा ठूला स्वरले गरिदिने तर समस्याको समाधान ननिकाल्ने र युद्धलाई चर्काइरहने क्रम चलिरहने हो भने यो मुलुकलाई अप्ठ्यारो पर्छ । अर्को कुरा हामी यही १४ र १५ गते लगानी सम्मेलन गर्दैछौँ । यति हतार हतारमा ऐनहरु ल्याएका छौँ । दिनरात नभनी त्यसलाई पास गर्नतिर लागि परेका छौँ । सरकारलाई यति पनि हेक्का छैन, ऐन पास गर्दैमा लगानी बढ्ने होइनर ? विकास र समृद्धिका लागि सरकार स्पष्ट भएर अगाडी बढ्नुपर्छ ।