सेनाबाट बुट फिर्ता भएपछि ठेकेदारलाई तनाव, ९ करोडको ठेक्का अन्याैलमा

 

साउन २८, काठमाडौं ।  नेपाली सेनालाई डिएमएस बुट सप्लाई गर्ने ठेक्का पाएको फुटकेयर इण्डष्ट्रिज प्रालिले समयमा सामान बुझाउन नसक्दा तनाव सिर्जना भएको छ । 

५० हजार जोर डिएमएस बुटको ठेक्का प्रक्रिया सेनाले तीन पटकसम्म रद्द गरेर अन्तमा फुटकेयरलाई दिएको थियो । प्रतिस्पर्धामा सबैभन्दा कम रकममा टेण्डर भरेको उक्त कम्पनीलाई सेनाले ठेक्का दिएपछि समयमा नै सामान बुझाउन नसक्दा यतिबेला ठेकेदार समेत तनाव छन् । समयमै बुझाउन नसकेपछि सेनाले भदौ १५ गतेसम्मको समयावधि थप गरेको बताइएको छ । 

null

फुटकेयरका मालिक खिला केसीले यो सातासम्म २५ हजार जोर डिएमएस बुट सेनामा बुझाइसकेका छन् । तर, बुझाएको उक्त बुट गुणस्तर छ छैन भन्ने कुराको अन्तिम निर्णय भने सेनाले दिइसकेको छैन । 

ठेकेदार केसीले उदयपुर घर भएका माओवादी पूर्वलडाकुसमेत रहेका केशर नाम गरेका व्यक्तिलाई साझेदारका रूपमा राखेर सेनाको उक्त बुटको ठेक्का पाएका हुन् । 

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ठेक्का पाएर पनि बुट बुझाउन नसकेका कारण विवादमा आइरहेका केसीलाई सेनाले यति ठूलो ठेक्का प्रक्रिया दिएपछि समय सीमामा उनले बुझाउन नसकेकै कारण आगामी भदौ १५ गतेको म्याद दिइएको हो । 

ठेक्का प्राप्त गरेपछि सयकडा ३६ को ब्याजमा रकम संकलन गरेर केसीले ठेक्का सम्पन्न गर्ने अभियानमा सक्रिय भए पनि उनले बुझाएको बुट परीक्षण नभएका कारण झनै अन्यौलता थपिएको छ । 

यदि परीक्षणमा पास नभई फेल भएका खण्डमा झण्डैँ ९ करोड रूपैयाँको ठेक्का प्रक्रिया एकातर्फ रद्द हुने त छँदै छ, अर्कोतर्फ ठेकेदारहरू सडकमा आउनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । त्यसमाथि तत्कालीन माओवादी निकट एक टेलिभिजनका सञ्चारकर्मीबाट ठेकेदार केसीले सयकडा ३६ मा तीन करोड रूपैयाँ लिएको समेत जानकारी प्राप्त भएको छ । 

अहिले भदौ १५ सम्म ५० हजार जोर जुत्ता बुझाउनका लागि टोखा नगरपालिकाको ग्राण्डी अस्पतालनजिक जुत्ता सिलाउने काम भइरहेको छ । यसअघि ठेकेदार केसीले जुत्ता तयार भएको भन्दै ५ हजार जोर सेनामा बुझाएका थिए । 

परीक्षणका क्रममा सेनाले उक्त जुत्ता पानीमा टेष्ट गर्दा बुट २ भागमा विभाजित भएपछि ठेकेदारलाई फिर्ता पठाइदिएको थियो । गुणस्तरहीन पुरानो रबर प्रयोग गरेका कारण उक्त बुट अत्यन्तै कमजोर भएपछि सेनाले फिर्ता गरिदिएको हो । त्यसपछि भने उक्त फुटकेयरले बुट निर्माणमा ध्यान दिँदै हेर्दा गुणस्तरीय देखिएका बुट बुझाएको स्रोत बताउँछ । तथापि सेनाले परीक्षण गर्न भने बाँकी नै छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *