विप्लव समूहका नेता भन्छन्– ‘द्वन्द्वले फाइदा गर्दैन, हामी वार्ताकै पक्षमा छौँ’
साउन १७, काठमाडौं । नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन् ।
महानगरीय प्रहरी परिसर टेकुमा कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए ।
null
उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिए । वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने, ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नु भएको छ ।’
आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे ।
चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उहाँलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । रासस