महिला अधिकारका लागि सबै महिला एक हुनुपर्ने : मन्त्री बस्नेत

काठमाडौँ, १६ साउन । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले महिलाको हक अधिकार सुनिश्चित गर्नका लागि सबै महिला एक भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयले आज यहाँ आयोजना गरेको अभिनन्दन तथा बधाई कार्यक्रममा उहाँले महिलालाई स्थापित गराउन चुनौती भएको बताउँदै आफ्ना हक अधिकारका लागि पनि पार्टीगत हिसाबले नहेरी सबै महिला संगठित भएर लाग्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले हजारौँ युवा गरिबीका कारण विदेश पलायन हुनुपर्ने बाध्यता भएको बताउँदै स्वदेशमा नै रोजगारी प्रदान गर्नका लागि आफ्नो मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो ।

आयोजक सङ्घकी अध्यक्ष उमा रेग्मीले मन्त्री बस्नेतलाई आफ्नो कार्यकाल सफलताको शुभकामना प्रदान गर्दै विसं २०४८ देखि महिला हकहितका लागि संघर्ष गरिरहेको बताउनुभयो । उहाँले अहिलेको संविधानबाट महिला हक अधिकार पाएको चर्चासमेत गर्नुभयो ।

त्यसैगरी, पूर्व राज्यमन्त्री एवं आयोजक सङ्घकी पूर्व अध्यक्ष मीना पाण्डेले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा महिला सहभागिताका बारेमा सबै महिला सचेत हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *