बुवाको हत्या भएको भन्दै छोराछोरी मिडियामा

बैशाख २९, काठमाडौं । सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको आरोप लगाएका हुन् । 

 

उनीहरुका अनुसार मिति २०७५ साल फाल्गुन १८ गते शनिबारका दिन रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नं. ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले फेला पारेको बताईएको थियो । 

null

उनीहरुले आफ्नो बुवाको निर्ममतापूर्वक हत्या गरिएको भन्दै सरकारसँग सत्य तथ्य छानबिन गरि आफूहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै छोरी संगिताले भनिन्,‘बुवाको शवको अवस्था र पोष्टमार्टम रिपोर्ट हेर्दा यो हत्या नै भएको हाम्रो दाबी छ । त्यसैले सरकारले यसबारेमा छानबिन गर्नुपर्छ । आज ७१ दिन भैसक्यो, तर अहिलेसम्म यसबारेमा प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याउन नसक्नु एकदमै दुःखदायी कुरा हो ।’ 

आफ्नो बुवाको विरेन्द्रनगरको बिच बजार बुद्धपथमा नै हत्या हुँदासमेत प्रहरी प्रशासन अनुशन्धानमा चुक्नु र अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नुले आफूहरुलाई पीडामाथि थप पीडा थपिएको उनले गुनासो पोखिन् । 

उनले थप भनिन्,‘मैले मरिसकेको बुवालाई फर्काईदेउ भनेर कसैलाई पनि भनेको छैन, तर न्याय देउ भनिरहँदा पनि आजसम्म न्याय नपाउँदा बुवा गुमाउनुको भन्दा पनि न्याय नपाउनुको पीडा ठूलो बनेको छ । हाम्रो परिवार यतिखेर विक्षिप्त छ ।’ 

मृतकका छोरा तिलकराज आचार्यले पनि आफ्नो बुवाको हत्या नै भएको दाबी गरे । सरकारले हत्यामा संलग्न दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरि कारवाही गर्नुपर्ने उनको माग थियो । आफ्नो बुवाको शव फेला परेको ठाउँ प्राईभेट हस्पिटल, नाम चलेका होटल र विभिन्न सञ्चार माध्यमहरु भएको ठाउँ भएको सुनाउँदै बुवाको व्यस्त बजारमा हत्या हुँदापनि कुनैपनि स्थानीय मिडियाले समाचार नबनाएकोमा आफूहरु थप संशकित भएको उनले स्पष्ट पारे । 

छोरा र छोरीका अनुसार मृतक तत्कालिन नेकपा एमालेमा आवद्ध थिए । अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपामा आवद्ध सदस्य अर्थात भोटर हुँदापनि यो हत्याको विषयमा पार्टी नेतृत्वले यसबारेमा अहिलेसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मृतकको शरिरमाथि घाटमै पार्टीको झण्डा ओढाएर उनको बारेमा व्याख्या र विश्लेषण गरि एउटा शवमाथि राजनीति गर्ने स्थानीय नेताहरु समेत ११ दिन पछि एकपटक पनि न त पीडित परिवारलाई भेट्न नै गए न त जिल्ला प्रहरी कार्यालयमा फलोअपको लागि नै गए । 

आफ्नै दुई तिहाईको सरकार हुँदासमेत उहाँहरु आफ्नो पार्टीको कार्यकर्ता माथि भएको अन्यायका विरुद्ध २ शब्द बोल्नुहुन्न भने उहाँहरुबाट हामीले के न्यायको आश गर्ने ?’ उक्त घट्नाको अनुशन्धाननको क्रममा सुरुवाती चरणदेखि नै प्रहरी प्रशासनले त्रुटिपूर्ण तवरले अनुशन्धान गरेको पनि उनीहरुको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *