‘ट्राफिक समस्या समाधानमा सहकार्यको खाँचो’

काठमाडाै, १६ साउन । काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यको खाँचो औँल्याइएको छ । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा भएको छलफलमा वक्ताहरुले दिनदिनै चुनौतीपूर्ण बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक व्यवस्थापनसम्बन्धी जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने सुझाव दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको सवारी चाप कम गर्न ‘पार्किङ महल’को खाँचो रहेको बताउनुभयो । “ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने महानगरपालिकाको नीति हो, अब महानगरपालिकाले फुटपाथ हटाउने, आकाशे पुल निर्माण गर्ने कामलाई उच्च प्राथमिकता दिनेछ”, उहाँले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । प्रमुख खनालले उपत्यकाका अधिकांश सडक खाल्टा हुँदै गएको भन्दै चाँडो खाल्टा पुर्न सम्बन्धित निकायसँग आग्रहसमेत गर्नुभयो । सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा उपत्यकाका धेरै सडकको संरचना खल्बलिएको हुँदा यसलाई चाँडो निर्माण गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधार विकास नभएसम्म उपत्यकाको ट्राफिक समस्या समाधान नहुने बताउनुभयो । उहाँले ६० हजार मालबाहक सवारीसाधनका लागि छुट्टै बसपार्क आवश्यक रहेको स्पष्ट पार्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबै पक्ष एकजुट हुुनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *