लकडाउनमा विपन्न जनतालाई राहत वितरण गर्दै धरानका वडाध्यक्ष

चैत्र १७, धरान । कोरोना भाइरसका कारण मुलुक लकडाउन र जनता त्रासमा रहेका बेला धरानका एक वडाध्यक्ष भने जनताको सेवामा खटिइरहेका छन् । लकडाउनका कारण निजी तथा सरकारी कार्यालयहरु बन्द रहेको अवस्थामा धरान–१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) भने जनतालाई राहत बाँड्न ब्यस्त छन् ।   

वडाध्यक्ष प्रबिण राईले बिपन्न तथा दैनिक ज्यालादारीमा काम गरी खाने जनताका लागि वडा कार्यालय खोलेरै राहत वितरण गरिरहेका छन् । लकडाउनका कारण दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने परिवारलाई विहान बेलुकाको छाकै टार्न समस्या भएपछि राईले  बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहत स्वरुप खाद्यान्न तथा मास्क वितरण गर्दै आएका छन् । 

  

‘अरुबेलाको जस्तै दैनिक जनताका काम गरेको छैन तर, आफ्नो वडामा रहेका अतिविपन्न जनतालाई कोरोना भाइरस संक्रमणको सचेतना दिँदै खाद्यान्न तथा मास्क वितरण गर्दैछु ।’ उनले भने ।   

वडाध्यक्ष राईले अतिबिपन्न परिवारलाई आफनै खर्च र केही वडा सदस्यहरुको सहयोगमा दैनिक उपभोग्यका सामान वितरण गरेका हुन् । धरानका विभिन्न खाद्यान्न स्टोर तथा कृषी बजारबाट खरिद गरेर ल्याएका खाद्यान्न अतिविपन्न परिवारलाई निःशुल्क वितरण गरिएको छ । वडाध्यक्षले कार्यालयबाटै राहत वितरण गर्दा विपन्न वर्गलाई ठूलो राहत भएको छ ।   

उनले आफनो व्यक्तिगत खर्चमा विपन्न परिवारलाई अत्यावश्यक सामग्री निःशुल्क वितरण गरेको बताएका छन् । उनले धरानका विभिन्न कृषि बजारबाट खरिद गरि ल्याइएको तरकारी उनले वडा कार्यालयबाट सहुलियत रुपमा विक्रि गर्ने ब्यवस्था मिलाएका छन् । ‘दैनिक किन्नुपर्ने तरकारी खरिद गर्न बजार निस्कँदा जनताको स्वास्थ्य जोखिममा पर्ने देखेर मैले वडा कार्यालयमै किन्न सकिने ब्यवस्था गरेको हुँ ।’ उनले भने ।   

वडाध्यक्ष राईले स्थानीय विपन्न वर्गका जनतालाई प्रति व्यक्ति ५ केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल र १ किलो नुन वडा कार्यलयबाटै प्रदान गर्दै आइरहेका छन् ।   

विश्वव्यापी रुपमा कोरोना भाइरसले त्रसित पारेको अवस्थामा सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक ज्यालादारी गरेर खाने परिवार भोकभोकै हुने अवस्था आएकोले आफुले खाद्यान्न वितरण गरेको वडाध्यक्ष राईले बताए । ‘अरुबेला त उहाँहरुले काम गरेर जिविकोपार्जन गर्न सक्छन् तर, यो बेलामा काम समेत गर्न सक्ने अवस्था छैन । त्यहि भएर उहाँहरुलाई स्थानीय सरकारको अनुभूत गराउन भएपनि खाद्यान्न वितरण गरिएको हो ।’ वडाध्यक्ष राईले भने ।   

राईले आईतबार मात्रै वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिरामीका कुरुवाहरुलाई समेत खानेकुराको व्यवस्थापन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *