ग्रिसकी पहिलो महिला राष्ट्रपतिद्वारा शपथ ग्रहण
फागुन ३०, काठमाडौं । ग्रिसकी पहिलो महिला राष्ट्रपति एकातेरिनी साकेल्लारोपोलोउले आज (शुक्रबार) सपथ ग्रहण गरेकी छिन् ।
ग्रिसको माथिल्लो प्रशासनिक अदालत काउन्सिल अफ स्टेटको पूर्वअध्यक्ष समेत रहेकी उनले ग्रिस संसदले निर्वाचित गरेको दुई महिनापछि सपथ ग्रहण गरेकी हुन् ।
नोभेल कोरोना भाइरसको संक्रमण फैलिने त्रासका कारण करिब खाली संसदमा उनले शपथ ग्रहण गरेकी हुन् । उक्त समारोहमा केही सीमित सांसद र पत्रकारहरु मात्र सहभागी थिए ।
ग्रिसमा हालसम्म यहाँ ११७ जनामा कोरोनाको संक्रमण भएको छ भने एक जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विगतका राष्ट्रपति प्रायः पार्टीका वरिष्ठ नेता थिए । तर साकेल्लारापोलोउ गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति हुन् ।
चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रिसको माथिल्लो प्रशासनिक अदालत काउन्सिल अफ स्टेटको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी छिन् । यो पद सम्हाल्ने उनी पहिलो महिला हुन् ।