भक्तपुर जुवा सञ्चालक चुप्पी भाग्न सफल, जुवापछि वेश्यावृत्तिको अभियानमा एसपी
साउन ११, भक्तपुर । जुवा खेल्ने खेलाउने नै पेशा बनाएर भक्तपुरमा सक्रिय रहँदै आएका चुप्पी भन्ने मोहन बहादुर शाही प्रहरीको अप्रेसनमा भाग्न सफल भएका छन् । जिप्रका र मातहतका वृत्तका घुमुवाहरूलाई मासिक रकम दिएर आफ्नो जुवाको अवैध कारोवारलाई संरक्षण गरिरहेका चुप्पीले ठूलो र संगठितरूपमा जुवा खेलाउँदै आएका थिए ।
भक्तपुरको सल्लाघारीबाट दुवाकोट जाने बाटोमा रहेको रातो घरमा उनले नियमित रूपमा ठूलो जुवा अखडा सञ्चालन गरिरहेका थिए । उनको त्यो जुवा अखडालाई मिनी क्यासिनोका रूपमा समेत लिने गरिन्छ । चुप्पीले घुमुवाहरूलाई प्रयोग गर्दै जुवा खेलाएको समाचार विभिन्न सञ्चारमाध्यममा बारम्बार प्रकाशित गर्दै आएको थियो साथै भक्तपुरका एसपी सविन प्रधानलाई समेत जुवा अखडाको सूचना प्राप्त भएपछि उनले छापा मार्न सफल भएका थिए तर, मुख्य सञ्चालक र खेलाडीहरूलाई चर्को व्याजमा लगानी गर्दै आएका चुप्पी अर्थात् मोहनबहादुर शाही भने भाग्न सफल भएका छन् ।
एसपी सविन प्रधानले यसै सातामात्रै तीन वटा जुवा अखडाहरूमा छापा मारेका छन् । भक्तपुरमा जुवा र वेश्यावृत्तिको धन्दा पछिल्लो समय व्यापक रूपमा मौलाउँदै गएको छ । लोकन्थलीदेखि साँगासम्मका धेरै क्याविन, कटेज र रिसोर्टहरूमा खुलेआम वेश्यावृत्ति हुँदै आएको छ । करोडौँ रूपैयाँ लगानी गरेर खोलिएका नाम चलेका रिसोर्ट र होटलहरूमा समेत खुलेआम वेश्यावृत्ति हुने गरेको तथ्य सार्वजनिक भइरहे पनि हालसम्म प्रहरीले छापा मार्न भने सकेको छैन ।
null
यस्तो गलत धन्दा गर्दै आएका सञ्चालकहरूले घुमुवा प्रहरीहरूमात्रै नभएर स्थानीय प्रहरी कार्यालयका प्रमुखहरूलाई समेत आर्थिक प्रलोभनमा पारी आफ्नो धन्दा सञ्चालन गर्दै आएका छन् । एसपी सविन प्रधान प्रायः प्रहरी मुख्यालयमा बसी स्वच्छ छविमात्रै बनाएनन् कि उनी प्रहरीमा सोझो स्वभावका समेत अधिकृतका रूपमा चिनिन्छन् । उनको यो सोझोपनाको फाइदा अहिले घुमुवा र कतिपय मातहतका युनिटका प्रमुखहरूले लिँदै आएका छन् । जुवा अखडामा छापा मारिए पनि वेश्यावृत्ति गराउने त्यस्ता होटल, लज र रिसोर्ट एवम् क्याविन रेष्टुरेन्टहरूमा अझै पनि जिल्ला नेतृत्वको ध्यान जान नसकेको गुनासो आइरहेको छ ।
जगाती क्षेत्रका कतिपय रिसोर्टहरूमा त घण्टे व्यापारसमेत हुने गरेको व्यवसायीहरू नै बताउँछन् । एकान्तमा कटेज बनाएर खुलेआम वेश्यावृत्तिको धन्दासमेत त्यस क्षेत्रका धेरै रिसोर्टहरूमा हुँदै आएको छ । एसपी प्रधानले आफ्नो अबको दोस्रो अप्रेसन वेश्यावृत्ति नियन्त्रणमा केन्द्रित गर्ने तयारी गरेको समेत थाहा भएको छ । जुवा खेलाउनेमा भक्तपुरमा चुप्पीका अलावा लक्ष्मण अवालेदेखि थुप्रै व्यक्तिहरू रहेका छन् ।
प्रहरीले यसै साता छापा मारेका भक्तपुरका तीन घटनाहरूमा दुई वटा सूर्यविनायक र एउटा सल्लाघारीको रहेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार ३५० र ३४ लाख ३० हजारको विभिन्न बैंकहरूको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
यसैगरी सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने चिरन थापाको करण क्याफेमा जुवातास खेलिरहेको अवस्थामा थापालगायत ७ जनालाई ७० हजार १ सय ९५ रूपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी भक्तपुर नगरपालिका– १ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रूपैयाँसहित ६ जना पक्राउ गरेको छ ।
त्यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका– १३ नैकाप मुखिया गाउँस्थित केदारप्रसाद पौडेलको टहरामा जुवातास खेलिरहेको अवस्थामा पौडेललगायत ९ जनालाई नगद ४६ हजार ९५ रूपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।