प्रचण्डको आरोपः मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु

 

बैशाख २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्चीको खानेपानी काठमाडौं ल्याएरै छोड्ने दाबी गरेका छन् । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका छन् । नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउँछौँ । अब कडा कदम चालेर मेलम्ची ल्याउनुपर्छ भन्ने कुरामा सरकार दृढ छ ।’ 

उनले मेलम्चीको पानी काठमाडौं ल्याउन अझै १–२ वर्ष लाग्ने स्पष्ट पार्दै सुरुङ खन्ने लगायतका कामहरु अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । 

गत माघ २५ गते इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेपछि मेलम्ची खानेपानी आयोजनाको काम अहिले अलपत्र परेको छ । अन्तिम चरणमा पुगेको भनिएको आयोजनाको काम रोकिएपछि काठमाडौंबासीले कहिले मेलम्चीको पानी खान पाउँछन् भन्नेमा अन्यौलता पनि बढेको छ । 

सन् २००९ देखि चिनियाँ कम्पनीले सुरुङमार्ग निर्माणको काम थालेपनि समयमा काम सम्पन्न गर्न नसकेपछि २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो । 

सन् २०१३ सिएमसी दि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी काम सक्ने गरी सम्झौता भएको थियो । कम्पनीले भूकम्प र नाकाबन्दीपछि समयमा काम गर्न नसकेको भनेपछि सरकारले समय पनि थप गरेको थियो । पछि भने उसले आर्थिक रुपमा टाट पल्टिएको भन्दै काम गर्न नसक्ने बताएको थियो । 

सिएमसीले सिंगापुरमा भएको वार्तामा काममा फर्कनका लागि २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको सरकारकाे भनाइ छ । सिएमसीसँगको वार्तामा कुरा नमिलेपछि सरकारले मेलम्चीको काम अघि बढाउन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *