भ्रष्टको आँखा आयल निगममा, नेतृत्व हत्याउन शक्ति केन्द्र धाउँदै
मंसिर १२, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक हुनका लागि विभिन्न ब्यक्तिहरु शक्ति केन्द्र धाउन ब्यस्त छन् । निगम निमित्त १३ महिनादेखि निमित्तका भरमा सञ्चालन हुँदै आएको छ । २०७४ कात्तिक १३ देखि निगमको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई छन् । निगमको कार्यकारी निर्देशकका लागि गएको असोज भदौ २९ मा १५ दिनको म्याद दिएर आवेदन माग गरिएको थियो ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, बाणिज्यशास्त्र, ब्यवस्थापन वा इन्जीनीयरीङ बिषयमा कम्तीमा स्नातकोत्तर तह वा ब्यवस्थापनमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्ट शैक्षिक उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रको ब्यवस्थापकीय वा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष कार्य अनुभव हासिल गरेको हुनुपर्ने सूचना निकालेको थियो ।
null
निगमको सूचना अनुसार १७ जनाले आवेदन दिएका थिए । तर आवेदन लिनेबाहेक कार्यकारी निर्देशक छनोट समितिले कुनै पनि प्रक्रिया सुरु गरेको छैन । आवेदन लिएर मात्र राखेको छ । मन्त्रालयले आवेदन मागेको २ महिना पूरा भइसकेको छ । तर छनोट प्रक्रिया अगाडि बढेको छैन । छनोट प्रक्रिया अगाडि नबढेकाले कार्यकारी निर्देशक छनोटका लागि अर्को विज्ञापन हुने चर्चा पनि उद्योग मन्त्रालयमा हुने गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव अर्को सूचना निकाल्ने पक्षमा रहेकाले पनि कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया आवेदन लिनेमा मात्र सीमित भएको स्रोतको दाबी छ ।
कस कसले दिएका छन् आवेदन ?
निगमको कार्यकारी निर्देशकको लागि दरखास्त दिनेहरुमा सुरेन्द्रकुमार पौडेल, रामप्रसाद धिताल, मुकेश काफ्ले, शिवहरि श्रेष्ठ, अच्युत पहाडी, गोबद्र्धन खड्का, रमेशकुमार बस्नेत छन् । त्यस्तै डा. सरोज कोइराला, गोविन्दप्रसाद खरेल, मंगललाल श्रेष्ठ, प्रलयंकर आचार्य, नारद थापा, अनिलकुमार झा, तारानाथ पौडेल, शिवराम यादवले कार्यकारी निर्देशकमा निवेदन दिएका छन् । निगमको कार्यकारी निर्देशकका लागि सबैभन्दा बढी चर्चामा सुरेन्द्रकुमार पौडेल छन् । उनले उदयपुर सिमेन्ट उद्योगलाई कुशलतापूर्वक संचालन गरेकाले उनलाई बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री केपी ओली पनि रहेको बताइन्छ । उनले उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन गर्न सफल भएकाले पनि उनी कुशल ब्यवस्थापकीय क्षमता भएका भनेर चिनिएका हुन् । घाटामा गएको उदयपुर सिमेन्टलाई पूर्ण क्षमतामा संचालन गरेर नाफामा लान सफल पौडेललाई कार्यकारी निर्देशक बन्न रोक्न निगमभित्रको रैथाने समूह लागेको छ ।
निगमभित्र गोपालबहादुर खड्कासँग मिलेर खान पल्किएको समूह सिक्टा सिंचाई आयोजनामा २ पटक प्रमुख भएका रमेशकुमार बस्नेतलाई ल्याउन चाहिरहेको छ । सिक्टा सिंचाई आयोजनाको ठेक्का मिलेमतोमा दिएर दसौं करोड रुपैयाँ भ्रष्टाचार गरेका बस्नेतलाई एउटा समूहले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसम्म पुर्याइसकेको छ । बस्नेतले अध्यक्ष दाहाललाई प्रभावमा पारिसकेको भन्दै निगमको कार्यकारी निर्देशक हुने ग्यारेन्टी गर्दै हिंड्न थालेका छन् । सिक्टा संचाईको मूल नहर भत्किनुमा मुख्य दोषी बस्नेतबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । संभवतः अख्तियारले उनका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्नसक्छ । तर उनले सिक्टामा मुद्दा नचलाउन अख्तियार मिलाइसकेको भन्दै निगममा नियुक्तिका लागि लगानी गरिसकेको स्रोतको दाबी छ ।
उद्योग मन्त्री पूर्व माओवादी नेता मातृका यादव भएकाले दाहालमार्फत् निगमको कार्यकारी निर्देशक हुने दाउमा बस्नेत छन् । बस्नेतमाथि सिक्टा भन्दा अघि रानीजमरा कुलरिया सिंचाई आयोजनाको प्रमुख हुँदा पनि मिलेमतोमा कालिका कन्ष्ट्रक्सनलाई ठेक्का दिएर करोडौ घोटाला गरेको आरोप लागेको थियो । बस्नेत पैसाकै बलमा निगमको कार्यकारी निर्देशक हुने दाउमा अहोरात्र लागेका छन् । यसअघि सडक डिभिजन कार्यालय काठमार्डौंको प्रमुख हुँदा भ्रष्टाचारका कारण बदनाम भएका गोपालबहादुर खड्कालाई नियुक्ति गर्दा तेल भण्डारणका लागि खोलाको बगरदेखि रेलको लिकमा पर्ने जग्गा किनेर डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको घटनाबाट तंग्रिंन नपाउँदै सिँचाइका अर्का त्यस्तै खराब पात्र रमेश बस्नेत नियुक्ति गरी निगमलार्ई थप टाट पल्टाउने गर्ने काम सुशासनको नारा लगाउँदै आएको सरकारले नगर्ने अपेक्षा गरिएको छ ।
निगमको एमडीका लागि दरखास्त दिने गोविन्द खरेल उद्योग विभागका पूर्व इन्जीनीयर हुन् । उनी विभागमा विवादित भएपछि विज्ञान प्रविधि मन्त्रालयमा सरुवा भएका थिए । हाल भौतिक मन्त्रालयमा कार्यरत छन् । जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध संचालक हुँदा संस्थानलाई घाटा पुर्याएर मोटाएका अनिलकुमार झाले पनि आवेदन दिएका छन् । निगमको कार्यकारी निर्देशकाका लागि आवेदन दिने मुकेशकुमार काफ्ले विद्युत प्राधिकरणको एमडीबाट बर्खास्त भएका हुन् । उनी एमडी हुँदा नेपालमा १८ घन्टासम्म लोडसेडिङ हुन्थ्यो । उनी हटेर कुलमान घिसिङ एमडी भएपछि लोडसेडिङ हटेको हो ।
एमडीका लागि दरखास्त हाल्ने गोबद्र्धन खड्का र अच्यूतराज पहाडी नेपाल वायुसेवा निगमका पूर्व हाकिम हुन् । उनीहरु पनि पटक पटक विवादमा परेका पात्र हुन् । वैकल्पिक ऊर्जा प्रबर्ध्दन केन्द्रबाट चार बर्षे कार्यकाल पूरा गरेका रामप्रसाद धितालले पनि निगमको एमडीका लागि आवेदन दिएका छन् । वीमा संस्थान र खाद्य संस्थानको प्रमुखका रुपमा काम गरिसकेका शिवहरि श्रेष्ठले पनि आवेदन दिएका छन् ।