यार्सागुम्बा टिप्नकाे लागि २ महिना सम्म विद्यालय बन्द

बैशाख २९, रुकुमपूर्व ।  रुकुमपूर्वका पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन्। यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन्। 

 

प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन्। विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्छन्। उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन (बुकी) मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु गरिन्छ। पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन्। 

null

हरेक वर्ष जेठको पहिलो साताबाट यार्सा सङ्कलन गर्ने भए पनि यो वर्ष हिउँ भएकाले ढिला गरेर सिजन शुरु हुन लागेको वडा नं १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए। यार्सा टिप्न जेठको दोस्रो सातादेखि खुल्ला गरिने भए पनि वैशाख अन्तिम सातादेखि नै यहाँका स्थानीयवासी पाटन जाने गर्दछन् । 

स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जानकारी दिए। शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जाने भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले भने। 

यो समयमा विद्यालय बन्द भए पनि वर्षे बिदासँग मिलाइने उनको भनाइ छ। जिल्लाका अन्य ठाउँमा बर्खामा विद्यालय बन्द गर्ने गरे पनि आफूहरुले नगर्ने गरेर अहिले बन्द हुने निर्णय भएको प्रधानाध्यापक पुनले बताए। दुई महिना लामो समयसम्म विद्यालय बन्द हुने भएकोले यहाँका विद्यार्थीको शैक्षिक प्रगति समेत नहुने गरेको तथ्याङ्कले देखाएको छ। 

विभिन्न बहानामा लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ। शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको भनाइ छ। 

जेठ महिनाबाट रुकुम पूर्वका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय दुई महिनासम्म बन्द हुने गर्दछन्। यो समयमा यहाँका स्थानीयवासीले ५० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताइएको छ। 

यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अधिकांश स्थानीयवासी पाटन जाने गर्छन्। शिक्षक नै पाटन जाने भएपछि विद्यालय बन्द हुने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका–२ का स्थानीयवासी रामलाल घर्तीले बताए। 

यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ। हरेक वर्ष यार्सा टिप्ने समयमा विद्यालय बन्द हुने प्रचलन जस्तै भएको समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए। अहिले बन्द भएपनि बर्खे बिदामा मिलान गरिने हुँदा पठनपाठनमा खासै असर नपुग्ने उनको भनाइ छ। रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *