प्राचीन विराट राजा दरवार क्षेत्रमा पर्यटकको आकर्षण बढ्दो

फागुन १०, विराटनगर । पूर्वकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल प्राचीन विराट राजाको दरवार क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ । प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद एवम् वहस चलिरहेको समयमा प्रदेश १ को अस्थायी राजधानी घोषणा गरेयता मोरङगको बुधनगर स्थित भेडीयारीमा अवस्थीत प्राचीन विराट राजाको दरवार अवलोकन भ्रमण, तथा अध्ययन अनुसन्धान गर्ने आन्तरीक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । 

यतिबेला दैनिक मात्रामा प्राचीन विराट राजाको दरवार क्षेत्र अवलोकनका लागि देशभरबाट तथा छिमेकी देश भारत एवम् तेस्रो मुलुकबाट पर्यटकहरु अध्ययन, अनुसन्धान र अवलोकन भ्रमणका लागि आउने गरेका छन् । 

भ्रमणमा आउने पर्यटकहरु प्राचीन विराट राजा दरवार क्षेत्रमा पुगेर अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँछन् । उनीहरुले विराट राजा दरवार क्षेत्रमा विभिन्न प्राचित वस्तुहरु देख्न पाइने मात्र नभई ऐतिहासिक महत्वका विषय नजिकैबाट नियाल्न र अनुभव गर्न सकिने बताए । 

null

भारतको विहार राज्य स्थीत रक्सौलबाट विराट राजा दरवार क्षेत्रमा आएका भारतीय मोहन सिंहले भने ‘ यहाँ आएपछी हामी हिन्दुधर्म मान्ने जो कोही पनि खुशी हुन्छौँ । वास्तवमा यहाँ प्राचीन ठुलो सम्पत्ति छ । तर सरकारले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि केही गरे जस्तो देखिएन ।’ विराट राजा दरवार क्षेत्र संरक्षक कमलकिशोर यादवले हाल सम्म विराट राजाको दरवार क्षेत्र अवलोकन, भ्रमण, अध्यन अनुसन्धान तथा शोधपत्र लेख्नका लागि इंग्ल्याण्ड, अमेरीका, भारतलगायत धेरै मुलुकहरुबाट पर्यटकहरु आउने गरेको उनले बताए । 

 

संरक्षक यादवले अब विराटनगर प्रदेशको अस्थायी राजधानी मात्र नभएर स्थायीनै हुन सक्ने पर्याप्त आधारहरु रहेकाले उक्त क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले पूर्वाधार निर्माण गर्ने र सो क्षेत्रको विकासका लागि उचित पहल गर्नुपर्ने बताए । 

उनले भने, ‘यहाँ अध्ययन, अवलोकनका लागि प्रायः सबै देशबाट पर्यटकहरु आएका छन् । यस विषयमा त धेरै देशका पुरातत्वविदहरुले थेसिसनै लेखेका छन् । मैँले हालसम्म यस क्षेत्रमा भेटिएका पुरातात्विक वस्तुहरु घरैमा संरक्षण गरेर राखेको छु । तीनलाई हेर्दा कुनै शुल्क लिने गरेको छैन ।’ 

विराट राजाको दरवार क्षेत्रमा पर्याप्त ऐतिहासिक तथा पूरातात्विक वस्तुहरु रहेकाले सो क्षेत्रको विकासका लागि पूरातत्व विभागले उत्खनन गर्नुपर्ने र आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन पर्यटकको सुविधाका लागि उक्त क्षेत्रमा प्रयाप्त होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्ने खान र बस्नको सुविधाका लागि होटल, लज तथा धर्मशाला निर्माण गर्ने, तथा यातायात सुविधाका लागि सुविधा सम्पन्न सडक बनाउने हो भने राज्यले सो क्षेत्रबाट प्रयाप्त आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ । 

 

यस्तो छ विराट राजा दरवार क्षेत्रको विशेषताः 

विराटनगरबाट करीब १० किलोमिटर दक्षिण सिमावर्ती साविक बुधनगर गाविसस्थित भेडियारीमा पर्ने महाभारतकालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ । महाभारतकालमा पाँच पाण्डवहरु गुप्तबासमा रहेका बेला दुर्योधनले पाण्डवहरुको भेद जान्न गुप्तचर पठाएको हुनाले उक्त क्षेत्रको नाम भेडीयारी रहन गएको हुन सक्ने इतिहास विदहरु बताउँछन् । 

त्यस्तै महाभारतकालमा सो क्षेत्रमा विराट राजाको राज्य रहेकाले विराट राजाका तबेला तथा गोठको गोबर राख्ने ठाउँ हालको विराटनगर रहेकाले यसको नाम गोग्राह हुँदै पछी विराटनगर भएको विभिन्न शोधकर्ता तथा इतिहासकारले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ । 

 

हाल उक्त क्षेत्रलाई विभिन्न निकायको सहकार्य र सहयोगमा संरक्षण गर्नका लागि घेरावारा लगाएर राखिएको छ । झट्ट हेर्दा अहिले उक्त क्षेत्रमा माटाको ढिस्को र केहि रुखहरु देखिएपनि वि.सं. ०२७ सालमा पुरातत्व विभागले उत्खनन गर्दा ढिस्को मुनी ईसापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरवार र अण्डाकारको मन्दिर फेला पारेको र यसको पुष्टि समेत भएको संरक्षक यादवले बताए । 

तत्कालिन समयमा उत्खनन गर्दा प्रचीन धातुहरु, माटाका प्राचीन मुद्राहरु, प्राचीन भाँडाकुँडाहरु तथा प्राचीन हात हतियारहरु समेत फेला पारिएको थियो । 

 

स्थानिय कमलकिशोर यादवले करीब अढाई दशक अघिदेखी विराट राजा दरवार क्षेत्रको संरक्षण गर्दै आएका छन् । उनले उक्त क्षेत्रमा फेला परेका प्राचीन बहुमुल्य शिक्काहरु, प्राचीन भाँडाकुडाहरु, महाभारतकालका विभिन्न बस्तु तथा सामग्रीहरु आफ्नै निवासमा संकलन गरेर संग्राहालयका रुपमा राखेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *