नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति अन्त्य गरिने

 

जेठ ५, काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ । 

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले आयोजना गरेको कार्यक्रममा शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोंगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गरिने जानकारी दिइएको हो । 

null

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले गोंगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने बताए । ‘नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ,’ उनले भने । 

परिसर प्रमुख सुवेदीले व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई कारबाही गरिने बताए । गोंगबु क्षेत्रका जनताले पीडकको पक्षमा भन्दा पीडितको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो । 

टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । ‘होटल व्यवसायको शिलशिलामा देखिएका कानूनी अफठ्यारा समाधानका लागि नगरपालिका सँधै लाग्नेछ,’ उनले भने । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोंगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताए । ‘नयाँ बसपार्क वरपर जथाभावी रुपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्कभित्र लैजान महासङ्घ लागेको छ,’ उनले भने । 

काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल होटल व्यवसायी सङ्घका महासचिव गणेश ढकाल लगायतले नयाँ बसपार्क क्षेत्रमा विकराल रुपमा रहेको होटल गाइड हटाउन आफ्नो सङ्घ लागेको उल्लेख गरे । 

सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंहले नमूना गोंगबु निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए । 

कार्यक्रममा गोंगबु क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधी तथा सदस्यले मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गरेर राष्ट्रिय बसपार्कलाई नमूना बसपार्कको रुपमा विकास गर्न लाग्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *