प्रचण्ड युएईबाट फर्केलगतै ओली सिंगापुर जाने, पार्टी एकता असरल्ल

 

साउन १४, काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ । पार्टीका दुवै अध्यक्षको विदेश भ्रमणले स्कुल विभागको नेतृत्व टुंगोमा पुर्याउन अझै समय लाग्ने देखिएको छ । 

तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेका बेला सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो ।  

null

प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजनमा केन्द्रीय सदस्यहरूको रुचि चाहना सोधेर मात्रै बैठक बस्ने भन्दै २८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । तर नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष दाहाल र अर्का अध्यक्ष केपी शर्मा ओली सिंगापुर जाने कार्यक्रम भएपछि बैठक २८ गते सम्मका लागि रोकिएको जानकारी दिएका छन्। 

अध्यक्ष दाहाल पत्नीको इच्छामा सपरिवार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरिसकेका छन् । अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् ।  

उता प्रचण्ड स्वदेश फर्केलगतै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जाने तयारीमा रहेको स्रोतले बताएको छ । 

प्रचण्ड फर्किने दिन अर्थात् १८ गते नै प्रम ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्न लागेका हुन् । ओली मृगौला प्रत्यारोपण गरी नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । उनी उपचारकै लागि जान लागेको स्रोतको दाबी छ । 

यता केही नेताहरु पार्टी एकता टुंगोमा नपुर्याइ, असरल्ल छोडेर दुवै अध्यक्ष विदेश भ्रमणमा जान लागेको भन्दै रुष्ट बनेका छन् । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, निकायहरूको गठनलाई पूर्णता नदिई विदेश भ्रमण जान लागेको भन्दै उनीहरु आक्रोशित भएका छन् । 

पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकता साउन मसान्तभित्र टुंग्याइसक्ने बताएका थिए । तर दुवै अध्यक्षको भ्रमणले साउन मसान्तभित्रै एकता टुंगिनेमा संशय पैदा गरेको छ । 

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा विवाद चुलिएको छ । स्कुल विभागको प्रमुखमा दाबी प्रस्तुत गरिरहेका नेताहरुले आ–आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । 

स्कुल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि पर्याप्त छलफल नपुगेको भन्दै बैठक पटक पटक स्थगित हुँदै आएको छ । 

छलफल नपुगेको भन्दै आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो भने हिजो सोमबारको बैठक पनि विना निष्कर्ष टुंगिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *