सिराहाको सीमामा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीयबीच झडप

वैशाख १, सिरहा। सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोकेपछि सिराहाको सोहर्वामा झडप भएको छ। नेपाल–भारत सीमानाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमबार झडप भएको हो।   

झडपका क्रममा सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन्। घाइते जवान चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सिराहा अस्पतालले जनाएको छ।   

सिराहा नगरपालिका–१९ सोहर्वामा सोमबार बिहान दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेर घरतर्फ फर्काएका थिए। उनी फर्किएको केहीबेरमा करिब २० जनाको समूहले सीमापारिबाट ढुंगा हान्न थालेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेले बताए।   

null

सोही क्रममा सुरक्षाकर्मीले भारत महुलियाका मोहनकुमार यादवलाई नियन्त्रणमा लिएका छन्। नियन्त्रणमा रहेका यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको एसपी कँडेलले जानकारी दिए। उनी दूध लिएर नेपाल प्रवेश गर्न खोज्ने राजेन्द्रकुमार यादवका छोरा हुन्। 

सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए। सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्‍धान भइरहेको बताए। 

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट इटाटारका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र रोक्काका अनुसार अहिले सीमा क्षेत्रको अवस्था सामान्य रहेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *