समाचार हटाएको प्रति माफि माग्यो प्रधानमन्त्रीकाे आइटी सल्लाहकार अलीको सिरान टेक्नालोजिजले

चैत्र २१, काठमाडौं । सिरान टेक्नोलोजिजले काठमाडौं प्रेस डटकमको समाचार हटाएको स्विकार गर्दै माफि मागेको छ । काठमाडौं प्रेस डटकममा चैत १८ गते प्रकाशित ’महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा छापिएको समाचार हटाएको स्वीकार गर्दै सिरान टेक्नोलोजिजले माफी मागेको हो । 

सिरान टेक्नोलोजिज ’काठमाडौं प्रेस’ को साइट डेभलपर हो । काठमाडौं प्रेस डटकमले बुधबार सिरानले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको भन्दै आपत्ति जनाएपछि बिहिबार राति विज्ञप्ति जारी गर्दै माफी मागेका हो ।   

’काठमाडौं प्रेसको वेबसाइटबाट केही समयका लागि अनपेक्षित रूपमा समाचार हटेको घटनामा हामी क्षमाप्रार्थी छौं,’ सिरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटि स्वीकार गर्दै काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रा शुभचिन्तकसँग क्षमायाचना गर्छौं ।’ 

लकडाउनका कारण आफ्नो प्राविधिक टिम घरबाट काम गरिरहेका बेला ‘गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटि हुन गएको’ कम्पनीको दावि छ । सिरान टेक्नोलोजिज इसेवाको सहायक कम्पनी हो । यसका सञ्चालकमध्ये असगर अली प्रधानमन्त्रीका आइटी विज्ञ पनि हुन् । प्रधानमन्त्रीकै आइटी सल्लाहकारको प्रत्यक्ष निर्देशनमा काठमाडौं प्रेस डटकमबाट समाचार डिलिट गरिएको चर्चा छ । 

काठमाडौं प्रेस डटकमले कोरोना भाइरस विरुद्ध आवश्यक सामग्री खरिदको अनियमिततामा प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज सामेल रहेको समाचार प्रकाशित गरेको थियो । 

उक्त अनलाईनलाई समाचार हटाउन पटक–पटक दबाब आएको तर नहटाएपछि सिस्टमभित्रै घुसेर समाचार हटाइदिएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले बताएका थिए । आफूलाई इसेवा र सिरान टेकसमेत सञ्चालन गर्ने एफवान सफ्टका सञ्चालक विश्वास ढकाल र इसेवाका प्रमुख कार्यकारी सुवास शर्माले फोन गरेर समाचार हटाउन भनेको परियारको दावि थियो । 

करिब तीन घण्टा काठमाडौं प्रेस डटकमको सिस्टममा प्रवेश गरेरै हटाइएको समाचार बुधबारै अपरान्ह काठमाडौं प्रेसले पुनः प्रकाशित गरेको थियो । हिजो नै अनलाइन पोर्टलबाट प्रधानमन्त्रीका आइटी सल्लाहकारले समाचार अनाधिकृत हटाएकोमा छानबिन गर्न सञ्चार माध्यमका सम्पादकहरूले माग गरेका थिए । उक्त विषयमा नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघले समेत खेद ब्यक्त गर्दै छानविनको माग गरेका थिए ।   

हेर्नुहोस सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *