कांग्रेसले रोक्यो क्रियाशील सदस्यता वितरण

चैत्र ९, काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अहिलेलाई स्थगन गरेको छ। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बारे सचेतना अभियानलाई सक्रिय बनाउन चैत मसान्तसम्मका लागि सदस्य वितरण स्थगन गरेको हो।   

कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर कांग्रेसले १४ औँ महाधिवेशन तयारीसँग सम्बन्धित क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन कार्य स्थगित गरेको हो। का‌ंग्रेसले यसअघि ठूला भेला र सम्मेलनहरू समेत स्थगित गरिसकेको छ।   

‘पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत ९ देखि लागू हुने गरी ती कार्य ०७६ चैत मसान्तसम्मका लागि स्थगित गरिएका छन्,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनका अनुसार सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टी पंक्तिको क्रियाशीलता भने सतर्कतापूर्वक विविध ढङ्गले जारी रहने जानकारी दिएका छन्। 

‘जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मीहरुसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेवीको भूमिका निभाउनु हुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ। 

उनका अनुसार सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिइनेछ। स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधिमा पनि मूलतः कोरोना सचेतना अभियानको आवश्यकताअनुसार नेपाली काँग्रेस केन्द्रीय कार्यालय खुला रहने उनले जानकारी दिएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *