चितवन प्रहरीले नष्ट गर्यो २५ रोपनीमा लगाइएको गाँजा
भदौ ३१, चितवन । चितवनको राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा रोपिएको गाँजा प्रहरीले नष्ट गरेको छ । गत शुक्रबार पहाड उक्लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राप्ती १२ र १३ मा रोपिएको गाँजा नष्ट गरेको हो । उक्त टोली गाँजा नष्ट गरेर सोमबार फर्किएको चितवन प्रहरीका प्रबक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेको नेतृत्वमा १८ जना र सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पाण्डेको नेतृत्वमा २१ जना प्रहरीको संयुक्त टोलीले करिब ७ विघा जमिनमा रोपिएको गाँजा नष्ट गरेको कोइरालाले बताए ।
साथै प्रहरीले सो क्षेत्रमा रहेका गाँजाका व्याड पनि नष्ट गरेको छ । प्रहरी टोलीले लागूऔषध कारोबार र अन्य अपराधिक गतिविधिमासमेत निगरानी गर्दै संभावित क्षेत्रको पहिचानसमेत गरेर फर्किएको दाबी गरेको छ ।
चितवन जिल्लाका दुर्गम क्षेत्रमा स्थानीयले अवैध रुपमा हरेक वर्ष जाँजा खेती गर्ने गरेका छन् । अवैध रुपमा लगाइएको गाँजा नष्ट गर्न प्रहरीले सचेतनासँगै गाँँजा नष्ट गर्ने अभियान चलाएपनि प्रभावकारी हुन सकिरहेको छैन । हरेक वर्ष गाँजा रोप्ने कार्य बढिरहेको छ ।