भैँसी दुहुने घाँस बन्दै काउली, बन्दा जस्ता तरकारी

पर्वत, १८ वैशाख । काउली, बन्दा जस्ता तरकारीहरु भान्सामा पाक्ने गर्छ तर दक्षिण पर्वतका केही कृषकहरुले भने काउली बन्दालाई भैसी दुहुन घाँसको रुपमा प्रयोग गर्न बाध्य छन् । पर्वतको पैंयु गाउँपालिका वडा नं ३ बेउलीबास चिलुवा गाउँका कृषकले लगाएको बन्दाले पछिल्लो समय बजार नपाउँदा गाईभैसीलाई खुवाउन बाध्य भएका हुन् ।केही समय पहिले देखि खेतमा लगाएको बन्दा बिक्री हुनै छाडेपछि कतिपय कृषकले गाँइभैसीलाई काटेर खुवाएका छन् भने कति कृषकले लगाएको बन्दा बारीमा नै कुहिने अवस्थामा पुगेको छ । स्थानिय युवा महिलाहरुले यस बर्ष धेरै क्षेत्रफलमा बन्दा लगाएका कारण नजिकका बजारमा बिक्री गर्न कठिन भएकाले गाईभैसीलाई खुवाउन बाध्य भएको उनीहरुको भनाई छ । 

दक्षिण पर्वतको मुख्य ब्यापारिक केन्द्र हातेमालोचोक बजार नै हो । हातेमालोचोकमा वालिङ र बुटवलबाट तरकारी भित्रिने भएका कारण स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार पाउन कठिन भएको छ । सेतीबेणी बजारमा पनि गुल्मी तर्फबाट तरकारी आउदा बिक्रीका लागि समस्या छ । हातेमालोचोक र वहाकी भञ्याङ्गमा पुगेर तरकारी बिक्री गरेपनि सोचे अनुसार बजार नभएको तरकारी उत्पादक बताउँछन् ।बन्दाले बजार नपाउँदा पछिल्लो समय काक्रो खेती तर्फ धेरै जना आकर्षित भएका छन् । गाउँका १६ देखि ३० बर्ष उमेर समुहका दिदीबहिनी मिलेर तरकारी खेती गर्दै आएका छन् । केहीले सामुहिक खेती गरेर त केहीले निजी तवरमा उत्पादनमा लागेका छन् । तरकारी बिक्री गरेर बचत गर्ने, पढ्ने खर्च बनाउने तथा घरपरिवारको खर्च समेत बेहोर्दै आएको उनीहरुको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *