कान्छी श्रीमती लिएर निर्मलाका बाबु किन आए काठमाडौँ ?

 

फागुन १५, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी कान्छी आमा लक्ष्मी पन्त र बाबु यज्ञराज पन्त काठमाडौँ आएका छन् । 

निर्मलालाई न्याय दिलाउन धर्नामा बसेका यज्ञराज धर्ना अन्त्य गर्दै उपचारका लागि काठमाडौँ आएका हुन् । 

null

मुटुको चाल बढ्दै गएको, भोक नलाग्ने, राती निन्द्रा नलाग्ने, छट्पटी हुने, टाउको दुखिरहने, कसैसँग बोल्नै मन नलाग्ने लगायतका समस्या देखिएका कारण उपचारका लागि कान्छी श्रीमतीलाई साथमा लिएर काठमाडौँ आएको उनले बताएका छन् । 

यसअघि उनी न्यायका लागि भन्दै जेठी श्रीमती अर्थात् निर्मलाकी आमा दुर्गादेवीसँग काठमाडौँ आएका थिए । पछि उनलाई मानसिक समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनलाई गत मंसिर १० गते काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको थियो । त्यसैको नियमित जाँचका लागि काठमाडौँ आएको उनको भनाइ छ । 

एक अन्तर्वार्तामा निर्मलाकी कान्छी आमाले आन्दोलन नछोडेको बताइन् । उनले भनिन्, ‘पहिले त आफ्नो स्वास्थ्य हेर्नुपर्यो । हामी अस्वस्थ भयौँ भने निर्मलाका न्यायका लागि हामी लड्ने कसरी । उहाँको (निर्मलाका बुवा) औषधी सकिएको १५–२० दिन भइसकेको थियो । त्यसैले उपचारकै लागि हामी काठमाडौँ आएका हौँ । हामी निर्मलाकाे न्यायका लागि लडिरहन्छाैँ ।’  

यता निर्मलाका बाबुले भने निर्मलाको दोषीलाई कारवाही नभएसम्म राहत नलिने बताएका छन् । ‘अहिले राहत नलिँदा सरकारले अनुसन्धान तीव्र गतिमा गर्न सकेको छैन भने हामीले राहत लियौँ भने त सरकारले वास्तै गर्दैन’, यज्ञराजले भने ।  

निर्मलाको हत्या भएको सात महिना पुगिसकेको छ । सरकारले अझै दोषी पहिचान गर्न सकेको छैन । प्रधानमन्त्रीले छिट्टै हत्यारा पत्ता लगाउने दाबी गरिरहेका छन् भने गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाका दोषी पहिचान गर्न सरकार असफल भएको स्वीकारेका छन् । गृहमन्त्री थापाले अनुसन्धान जारी रहेको दाबी गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *