कालो संविधानको विरोध गर्नुको विकल्प छैन हामीसँग

वि.सं. २०७२ को संविधानले शोषित, पीडित, उपेक्षित, मधेशी, आदीवाशी, जनताजति, महिला तथा पिछडिएका वर्गलाई समेट्न सकेको छैन । उनीहरुको पक्षमा छैन यो संविधान ।   

संविधान जारी भइरहँदा २०६२–६३ को आन्दोलन ताका सात दलले गरेको प्रतिबद्धता र २०६३ को अन्तरिम संविधानको बर्खिलाप छ यो संविधान । त्यसको मर्म र भावना विपरित छ । यो संविधान अधिकांश नेपाली जनताको भविष्यलाई उज्यालो भन्दा पनि अध्याँरोतिर डोर्याउने खालको भएका कारणले हामीले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन लागेका हौँ । त्यो अँध्यारो अर्थात् कालो संविधानको विरोध गर्नुको विकल्प छैन हामीसँग ।   

आदिवासी तथा पिछडिएका समुदायहरुको हकहित र अधिकारलाई पूर्ण रुपमा सुरक्षित नगरेसम्म यो संविधानले अधिकांश नेपाली जनताको मुहार उज्यालो बनाउन सक्दैन ।   

बहुसंख्यक भनिएका पार्टीहरुको संविधान सभामा एकल जातिय वर्चस्व कायम राख्ने महत्वकांक्षाले यो संविधान पनि सङ्किर्ण रुपले बन्यो । एकल जातिय घेराभित्र बन्यो । एकल राष्ट्रवादको पक्षमा बन्यो । त्यसैले यो संविधान सबै नेपाली जनताको बन्नै सकेन ।   

संघीयताको मोडल जुन अहिले लागु भएको छ, त्यो मोडलमा संशोधन गर्नु आवश्यक छ ।  नागरिकता समस्या र विकासमा भइरहेको प्रावधानहरु सहितको संशोधन आवश्यक छ । भाषाको सन्दर्भमा एउटा भाषालाई राष्ट्रभाषा बाँकीलाई प्रतिगामी भाषा बनाउने सरकारको जुन सोच छ, व्यवस्था छ, त्यसलाई पनि संशोधन गर्नुपर्छ ।   

मधेशवादी दल एउटा मात्रै छ, राजपा । संविधान बन्दाखेरी नै यो संविधान यस्तो बनाउ भनेर सुझाव दिँदै आएको हो हाम्रो पार्टीले । बहुमतको आडमा उहाँहरुले पेलेर संविधान बनाउनुभयो । माथिका बुँदाहरु संविधान भित्र समावेश गर्न सकियो भने यो संविधान हाम्रो अनुकुलको हुनेछ । मधेशी जनताको अनुकुलको हुनेछ । महिला र पिछडिएका जनाजति सबैको हितमा हुनेछ ।   

राजपाले संविधान संशोधन गर भनेर उहिलेदेखि नै भन्दै आएको छ । यसका लागि प्रयास गर्दै आएका छौँ । जोडबल गर्ने हो । जुन दिनसम्म हुँदैन, तबसम्म हामी ढकढकाइ रहने हो ।   

कानून भन्दा ठुलो संविधान हुन्छ । संविधान नेता, सांसदहरुले बनाउँछन् । पञ्चायती संविधान मान्दिन भनेर वीपी कोइरालाले भन्दा त केही भएन नि । हामीले भन्दा के हुन्छ ? संविधान त बदली रहन्छ । नेपालमा यो सातौँ संविधान हो । अब आठौँ बन्छ । 

संविधान नमान्नु भनेको गैर कानूनी होइन । हामीले नमानेको पनि होइन । तर यसमा भएका कमी कमजोरीहरु औँल्याएर यसलाई संशोधन गरौँ भनेका हौँ । संविधान नमानेर पनि नागरिक भइन्छ । नागरिक हुनलाई संविधान मानिरहनु पर्दैन । नेल्सन मन्डेलाले दक्षिण अफ्रिकाको संविधान मानेनन् । जेलमा बसे । र पछि संविधान आफ्नो अनुकुल बनाए । त्यसमा परिवर्तन गरे ।   

संविधान नमान्ने भनेको होइन, यो संविधान मा भएका चीजहरु ठिक छैन । ठिक गर्नुपर्यो भनेको हो । संविधान जनताको लागि हुन्छ, जनता संविधानको लागि हुँदैन । संविधान हामीले बनाएको हो । उचित भएन भने फेर्ने पनि हाम्रै कर्तव्य हो । त्यो फेर्नलाई हामीले प्रयास गरिरहेका छौँ । हाम्रो प्रयास जारी छ, जारी रहनेछ ।   

संविधान दिवसमा हामी सबैले कालो झण्डा गाड्नुपर्छ । जुलुस नारा गर्नुपर्छ । यो संविधान संशोधन गर, सबै नेपाली जनतालाई समेट, सबै जनताको हितैषी संविधान बनाऊ । भन्ने हो । साँझ ब्ल्याक आउट गर्ने, राजपाको संगठन भएको सबै ठाउँमा । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *