‘म नियमित काममा क्रियाशिल छु, मन्त्रीज्यूसँग जोडेर अनर्गल प्रचार नगरिदिनुस्’
वैशाख ७, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण नमागेको स्पष्ट पार्दै आफू नियमित काममा क्रियाशिल रहेको जानकारी दिएका छन् ।
आज (आइतबार) स्वास्थ्य मन्त्रालयको पत्र बुझेर आफू मन्त्रालयमा आएको जानकारी गराउँदै उनले पछिल्ला दिनहरुमा आफूसँग जोडेर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रशारित समाचारहरुमा गम्भीर ध्यानाकर्षण भएको बताए ।
‘मन्त्रालयले पठाएको पत्रमा मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने काम गर्नका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकाले आजकै मितिमा मन्त्रालयमा उपस्थित भइ अधिकारीहरुसँग सम्पर्क गरेको छु’, डा. पुनले भने ।
साथै उनले मन्त्रालय र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग जोडेर अनर्गल प्रचार नगरिदिन पनि आग्रह गरेका छन् । उनले भनेका छन्– ‘यस सम्बन्धमा माननीय मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड १९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’
यसअघि विभिन्न सञ्चार माध्यममा उनलाई कारवाहीका लागि मन्त्रालय बोलाइएको उल्लेख गरिएको थियो । मन्त्रालयले पुनमाथि स्पष्टिकरण माग्दै पत्र पठाएको उनले समेत दाबी गरेका थिए ।
यद्यपी आज भने उनले मन्त्रालयले आफूलाई कुनैपनि स्पष्टिकरणका लागि नबोलाएको बताए । उनले भने, ‘पत्र मैले खोलेको थिइनँ । आज हेरेँ, पत्रमा उपस्थित हुनु भनि लेखिएको थियो । त्यही अनुसार म आज यहाँ आइपुगेँ । म नियमित काममै हुन्छु, मन्त्रालयले आवश्यक काम परी बोलायो भने यता आउँछु ।’