भारतीयको हत्या अभियोगमा ७ जना पक्राउ, मुख्य अभियुक्त समिर फरार

पुस २५, काठमाडौं । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ। इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले यही पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना७त २०९५ नंको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए। 

Image result for जेल

बाटोमा विवाद परेपछि उनीहरुले मुखियालाई कुटपिट गरी हत्या गरी ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए।   

उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। हत्याको नौ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो। हत्या भएको आशङ्कामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *