‘लुट्न पाइँदैन भन्दा रुवाबासी किन ?’

 

चैत ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित, गैर-संवैधानिक, हिंसात्मक,  ध्वंसात्मक गतिविधि गरेका कारण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको स्पष्टीकरण दिएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले विप्लव पार्टी गैरसरकारी संस्था जस्तै कतै दर्ता नभएको बताए । ‘नेकपा विप्लव भनेर चिनिने एउटा झुण्ड छ । विप्लव समूह गैरसरकारी संस्था जस्तै हो, कुनै मान्यता नभएको, कतै दर्ता नभएको पार्टी हो । जुन संस्था विधिवत छैन’, उनले भने । 

null

अब यस्ता गैरसंवैधानिक तथा हिंसात्मक गतिविधि हुनै नदिने दाबी गर्दै प्रम ओलीले भने, ‘विप्लवले उद्यमी, व्यवसायीहरुलाई धम्क्याएर लुटपाट गरिरहेको छ । बम पड्काइरहेको छ । मान्छे मारिरहेको छ । विध्वंश मच्चाइरहेको छ । बसहरु जलाइरहेको छ । अब यस्ता कार्यहरु गर्न पाइँदैन । निषेध गरिन्छ । निषेध मात्रै होइन नियन्त्रणमा नै लिइन्छ ।’ 

उनले विप्लमाथिको प्रतिबन्धप्रति असन्तुष्ट नेताहरुलाई लक्षित गर्दै भने, ‘म आफूलाई लोकतान्त्रिक भन्ने र लोकतन्त्रको हिमायती ठान्ने पार्टीका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, इतिहासले पनि जवाफ दिन नसक्ने अभिव्यक्ति नदिउँ । ‘सरकारले लुट्न पाइँदैन, मान्छे मार्न पाइँदैन भन्दा रुवाबासी किन ?’ 

‘विप्लव समूहलाई म भन्न चाहन्छु । सरकार कुनै ठट्टा गरिरहेको छैन । नेपालमा संविधान विपरित, कानूनविपरितका कुनै पनि कुरा, विध्वंशका, लुटपाटका, आतंकवादी क्रियाकलाप गर्न पाइँदैन । निषेध गरेकै हो । कसैले रुवाबासी गर्दैमा सरकारले निषेध फिर्ता लिँदैन’, प्रधानमन्त्रीले भने । 

तपाईँले एउटा सानो झुण्ड भन्नुभयो, तर प्रतिबन्ध नै लगाउनु पर्ने भएपछि विप्लव समूह ठूलै रहेछ नि होइन र ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्रीले ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता आजदेखि गरेको हो ? अस्ती वार्ता समिति बनाएको तपाईँहरुलाई थाहा छैन ? उनीहरु वार्ता नगर्ने अडानमा छन् । उनीहरुको माग के हो ? तपाईंहरु बुझ्न सक्नुहुन्छ ? कसैले मलाई बताइदियोस् त । नेकपा विप्लव समूहका माग के हुन् ? एउटा सभ्य, लोकतान्त्रिक समाजले स्वीकार गर्न, सुन्न सक्ने खालका कुनै माग छन् ? अनुचित खालका क्रियाकलाप भइरहेका छन्, एउटा समूहका नाउँमा । त्यो हुन दिइँदैन’, भन्ने जवाफ दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *