यसरी भयो क्लिन स्विप
स्थानीय तह दोस्रो चरणको निर्वाचन परिणामपछि धनकुटा जिल्लाले ध्यान खिचेको छ । एमालेले क्लिन स्विप गरेर चर्चा कमायो । दोस्रो चरणमा एमालेले क्लिन स्विप गरेको एक मात्र जिल्ला धनकुटा हो ।
यसअघि पनि राम्रै सफलता पाएको हो । ०४९ सालमा देशभरि एमालेले एक्लो प्रयासबाट जिल्ला विकास समिति गठन गर्न सम्भव जिल्ला भोजपुर र धनकुटा मात्र थिए । यी दुईमध्ये धनकुटामा अवस्था अझ सुदृढ थियो । ०५४ साल आइपुग्दा साविकको महाभारत गाविसबाहेक सबै स्थानीय निकायमा एमालेले जित्यो । जिविस गठनमा त्यसबेला पनि क्लिन स्विप गरेकै हो ।
०४४ सालमा तत्कालीन मालेले उपयोगितावादी नीतिअनुसार दुई गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार उठाएको थियो । तीमध्ये बेलहारामा गोपाल गुरागाईं र राजारानीमा टेकरत्न चेम्जोङले जितेका थिए ।
कडा गृहकार्य
धनकुटाले दुई जना प्रधानमन्त्री जन्मायो । सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजाल । रिजाललाई धनकुटावासीले कहिले पनि जिल्लावासी भनेर न गौरव गरेको थाहा छैन । तर, सूर्यबहादुरको लिगेसी एमालेका लागि चुनौतीपूर्ण रहँदै आएको छ, क्षेत्र नम्बर २ मा । ०४८ सालमा उनलाई एमालेले हरायो । त्यसपछिका दुईवटा निर्वाचनमा थापाले यो क्षेत्रबाट जिते । एकपटक माओवादीका हरिराज खेवा लिम्बूले जिते भने पछिल्लोपटक थापाकै छोरा सुनिलले झिनो मतान्तरले एमालेलाई हराए । यो क्षेत्रमा एमाले पराजित हुनुको मुख्य कारण निरन्तरको अन्तरघात र थापाको लिगेसी नै हो । यसपटक भने थापाको पार्टी पूरै बढारियो । कतिसम्म भने उनको गृहगाउँ साविकको मुगा गाविससमेत समेटिएको पाख्रिबास नगरपालिकाबाट एमालेले मेयर र उपमेयर मात्रै होइन, कुनै पनि पदमा अरु कसैलाई जित्नै दिएन ।
धनकुटामा एमाले पहिलो पार्टी भएकै कारण अरुको आँखाको तारो बन्दै आएको छ । सर्वदलीय बैठकमा अरु पार्टी एकातिर र एमाले एक्लै अर्कोतिर हुने । यसबाट एमालेले महसुस गरेको थियो, स्थानीय तहको निर्वाचन भइहाले अन्य सबै पार्टी एकातिर हुनेछन् र उनीहरूको गठबन्धनलाई एक्लै सामना गर्नुपर्नेछ । त्यसैले कडा गृहकार्य गर्न थाल्यो ।
एकातिर एमाले गृहकार्यतिर लाग्यो भने अन्य पार्टीबीच तालमेलको कुरा खासै मिल्न सकेन । साँगुरीगढी र चौबिसे गाविसमा कांग्रेस र समाजवादी फोरमबीच तालमेल त भयो तर यस क्षेत्रमा स्थापित एमालेको प्रभावसामु यो तालमेल फिका बन्यो । यसरी एमालेले धनकुटामा इतिहासको विरासत बचाउँदै सहजै क्लिन स्विपको नतिजा निकाल्यो । यो न अस्वाभाविक थियो, न त आकस्मिक । यसबापत जिल्ला अध्यक्ष राजेन्द्र राईले पार्टी अध्यक्ष ओलीबाट ‘म्यान अफ दि म्याच’ को उपाधि पाइसकेका छन् । आसन्न महाधिवेशनबाट राई पार्टीको केन्द्रीय समितिमा पुग्ने सम्भावना बलियो बन्दै गएकोे छ ।
सुजनभाइहरूको योगदान
शान्तिप्रक्रियापछि देशभर चन्दा आतंक मच्चिँदा धनकुटा अछुतो थिएन । उसै त अन्य पार्टीको आँखाको तारो । चन्दा आतंकको विरोधमा एमाले युवा उभिए । त्यसपछि त वाइसिएललाई पुगिहाल्यो । बाटोमा एमाले भएर हिँड्यो कि पिटाइ खानुपर्ने । एमाले भएर सदरमुकाममा शिर ठाडो पारी हिँड्न नसकिने ।
अब गर्ने के ? युवा संघका तत्कालीन जिल्ला अध्यक्ष सुजनभाइ जोशी, प्रवीण पोखरेललगायतलाई खपिनसक्नुभयो । तर, ज्यान जोखिममा राख्नुपर्ने भयो । कतिखेर के हुने हो, थाहै छैन ।
अन्ततः उनीहरू चन्दा आतंक रोक्न बरु मर्न तयार भए । सदरमुकाममा ठूलो झडप भयो । वाइसिएल सयौँ संख्यामा हुन्थ्यो तर एमाले युवा तितरबितरको अवस्थामा थिए । सीमित युवा पार्टी कार्यालयमा ज्यान बचाएर बसेका थिए । उनीहरूले ज्यानको बाजी थापे । र, बाहिर निस्के, भिड्न । सुजनभाइ जोशीको नेतृत्वमा प्रवीण पोखरेल, समीर जोशी, दिलीप रायमाझी, बुद्ध तामाङ, राम लामा, मनोज राई, नारायण घिमिरे, दीपक, सुरेश अधिकारी र राजकुमार तेयुङ गरी जम्मा ११ जना थिए, ज्यान जोखिममा राखेर बाहिर निस्कने ।
यिनले सयौँको संख्यामा रहेका चन्दा आतंककारीलाई सदरमुकामबाट लखेटे । यो भिडन्तको दृश्य अचम्मको थियो । लखेट्नेहरू तलतिर, भाग्नेहरू माथितिर । खेद्ने जम्मा ११ जना, भाग्ने सयौंको संख्यामा । भाग्नेहरू उकालैउकालो भागे, खेद्नेले ओरालोतिरबाट खेदे । त्यतिखेर सुजनभाइ जोशीहरूले चन्दा आतंकलाई क्लिन स्विप गरे । हो, त्यसपछि धनकुटामा शान्ति मात्र छाएन, आफूलाई एमाले भनेर हिँड्नेहरूको शिर ठाडो भयो । एमाले भएकैले कुटाइ खानुपर्ने दिन सकियो । यी साहसी युवालाई राजेन्द्र राई र इन्द्रमणि पराजुलीहरूले ठूलो साथ दिएका थिए ।
बायोलोजिकल भोट
जिल्ला नै क्लिन स्विप गर्न सफल एमालेका लागि कांग्रेसभन्दा पनि यो पार्टीबाट सदरमुकाम धनकुटा नगरपालिकामा मेयर पदका उम्मेदवार दिनेश राई ठूलो चुनौती भएर देखा परे । मेरो आफ्नै वडाका पूर्व वडाध्यक्ष तथा बालसखा उमेशचन्द्र अधिकारी पार्टीलाई सघाउन काठमाडांैबाट गृहनगर गएका थिए । वडा नम्बर १ र २ को गणनापछि हजार मतको अन्तरले मेयरमा चिन्तन तामाङ अगाडि बढेपछि एमालेमा ठूलो उत्साह आयो । यद्यपि उमेशजीले भन्नुभयो, ‘तर जातीय भोट आइरहेको सुनिन्छ । यसै भन्न सक्ने अवस्थाचाहिँ छैन । जितिहाले डेढ सय मतभन्दा फरकचाहिँ पर्दैन ।’
उमेशजीले भनेकै अवस्था देखियो । दिनेश राई, आठपहरिया राई हुन् । एमाले उम्मेदवार चिन्तन तामाङ वडा नम्बर १ का स्थानीय बासिन्दा । ओकमालुङ टोलमा आठपहरिया राईको घना बस्ती छ । त्यहाँचाहिँ उनलाई फरक परेन । तर, आठपहरिया राईको राम्रै बस्ती रहेको वडा नम्बर २ (साविकको भीरगाउँ गाविस) बाट दिनेशले राम्रै मत ताने । एमालेले वडाध्यक्षमा ८१६ मत ल्याएर जित हासिल गर्दा कांग्र्रेसका उम्मेदवार २९८ मतमा सीमित भए । जबकि यहीँबाट एमालेका मेयर उम्मेदवारलाई ७५५ र कांग्रेसलाई ५४१ मत आयो ।
साविकको नगरपालिकामा वडा नम्बर १ बाहेक (३, ४, ५, ६, ७ र ८) कुनै पनि वडा त्यस्तो छैन, जहाँ कांग्रेस उम्मेदवार दिनेशले लिड नगरेको नहोउन् । धनकुटा नगरमा आठपहरिया राईको राम्रै मत छ । कांग्रेसको गढ रहेको वडा नम्बर ५ र ६ को मत गनिसकिँदा एमालेका चिन्तन तामाङ कांग्रेसभन्दा १७४ भोटले मात्र अघि थिए । यो परिणाम आउँदा मैले पुराना साथी जेपी भुजेललाई सोधेँ, ‘अब के हुन्छ ?’ उनले सहजै भने, ‘भोट आइडियोलोजिकल होइन, बायोलोजिकल पो आउँदै छ ।’
मत गन्न बाँकी साविक नगरपालिकाको वडा नम्बर ७ र ८ त आठपहरिया राईको घनाबस्ती हो । तर, दुवै वडा एमालेका लागि राम्रै वडा हो । वडा नम्बर ८ गनिसक्दा जेपीजीले भनेजस्तै भयो, दिनेश राई ८२ मतान्तरले अगाडि बढे । कांग्रेस कार्यकर्ताले नाराजुलुश शुरु गरिहाले । एमालेमा निराशा छायो ।
अब गन्न बाँकी थियो, साविकको वडा नम्बर ९ र १० । सुरुआती गणनामा हजार मतले अगाडि बढेको एमाले ८२ मतले पछि परिसकेको थियो । तर, साविकको बेलहाराबाट आफूलाई राम्रो मत आउनेमा ढुक्क थियो, एमाले । अगाडि बढिसकेको कांग्रेसलाई जातीय मतको भरोसा थियो । किनकि बेलहारामा पनि आठपहरिया राईको राम्रै मत छ । तर, अन्तिम परिणाममा बेलहारा क्षेत्रमा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो भयो । माओवादी केन्द्र पहिलो भएर एमालेलाई फरक पर्ने कुरा थिएन । अन्ततः बडो मुश्किलले ११४ मतान्तरले एमालेका चिन्तन तामाङले धनकुटामा एमालेले क्लिन स्विप गर्ने अवस्थालाई जोगाए ।
धनकुटामा मत जाहेर गरिएको अवस्थालाई बुझ्दै स्थानीय एमालेजनले के बुझ्नुपर्छ भने ब्यालेट बक्समा खस्ने मत आइडियोलोजिकल मात्र हुँदैन बाययोलोजिकल अर्थात् जातीय पनि हुन सक्छ । अघिल्ला स्थानीय निर्वाचनमा मैले पनि पसिना बगाएको थिएँ । यसबेला त परदेशमा छु, सिन्को भाँच्न सकिएन । स्थानीय तहमा जित्नेहरूलाई भन्नु छ, कम्तीमा जिल्लाबाट प्रतिभा पलायन रोक्नुहोला । मेरा आदर्श व्यक्तित्व रेख ब्लोन जापान भासिएको धेरै भयो । माथि उल्लिखित ११ जनामध्ये नेतृत्वकर्ता सुजनभाइ खाडी राष्ट्रमा पसिना बगाएर स्वदेश फर्केको धेरै भएको छैन । प्रवीण भाइ दुबईमा छन्, अनि सुरेश अधिकारी जापानमा । प्रतिभा पलायन रोक्न सके अहिलेलाई मात्र होइन, सधैँ–सधैँलाई एमालेले जिल्ला क्लिन स्विप गर्नेमा कुनै शंका छैन ।