मिर्गौला पीडित एकल महिला निःशुल्क डाइलासिस सुविधाबाट वञ्चित, स्थानीय समुदायले गर्‍यो आर्थिक सहयोग

भरतराज शर्मा (गोपाल)/ 

धरान,सुनसरी । धरानमा एक मिर्गौला पीडित महिला निःशुल्क सरकारी डाइलासिस सुविधाबाट वञ्चित भएकी छन् । मिर्गौला पीडित महिलासँग नागरिकता नहुँदा सरकारी सेवाबाट वञ्चित भएपछि स्थानीय समुदायले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

धरान–१५ लाजेश पथ, रामलक्ष्मण मार्गका समुदायले ४१ हजार रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी मिर्गौलाका बिरामी सपना तावाहाङ लिम्बुलाई प्रदान गरेको हो ।

धरान–१४ विजयपुर स्थित नरसिंह मन्दिर सँगैको घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बुको नागरिकता नहुँदा मिर्गौला रोगीलाई सरकारले प्रदान गर्दै आएको निःशुल्क डाइलासिस उपचार सेवाबाट रञ्जित भएकी छन् ।

आफ्नै खर्चमा उपचार गर्ने कुनै आम्दानीको श्रोत नहुँदा लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग होस् भनेर धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितिले स्थानीय बासीबाट सङ्कलन गरेको ४१ हजार २४० रुपैयाँ सहयोग गरेको हो ।

लिम्बु अहिले धरान १५ रामलक्ष्मण मार्गमा आफन्तको आश्रयमा रहेकी छन् । उनको दुवै मिर्गौला खराब भएर १ महिनादेखि थलिएकी हुन् । पीडितको उपचारका लागि थप आर्थिक सङ्कलन गरेर पुनः सहयोग गर्ने समितिका सचिव देउमान लिम्बुले मकालु खबरलाई जानकारी दिए ।

यता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले पीडित लिम्बुको तत्काल हेमोडाइलासिस गर्न तथा सम्भव भए मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको बताएका छन् ।

सरकारले दिएको सेवा पाउन पनि नागरिकता नभएपछि हेमोडायलासिस गर्न पनि उनले शुल्क तिर्नुपर्ने भएको छ ।

मिर्गौला खराब भएपछि हलचल गर्न नसक्ने अवस्थामा पुगेपछि चिकित्सकले उनलाई डायलासिसका लागि आउनु भनेका छन् तर शुल्क बुझाउन आर्थिक अवस्था नहुँदा उनी अहिले घरमै छिन् ।

२३ वर्षीय सपनाका बुबा घर बनाउने काम गर्छन् । अहिले लकडाउनका कारण रोजगारीनै गुमे पछि उनको परिवारमा झन् समस्या बढ्दै गएको छ । सबैबाट सहयोग भए छोरीलाई बचाउन सक्ने आमा नविताको याचना छ ।

आगोले जलेर गम्भीर बालिकालाई उपचारका लागि ४२ हजार सहयोग

धरान । यसैबिच आगोले जलेर गम्भीर भएकी सुनसरी बराह क्षेत्र वडा नं ५ की ५ वर्षिया बालिका देवी बराइलीको उपचारका लागि ४२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बालिकाको उपचारको लागि गठन गरिएको उपचार सहयोग समितिले सङ्कलन गरेको ४२ हजार रुपैयाँ बालिकाको अभिभावकलाई हस्तान्तरण गरेको हो ।

आगोले पोलेर गम्भीर भएकी बालिकाको उपचारका लागि बराह क्षेत्र नगरपालिका वडा ५ सिमरबन चौकका विक दम्पतीले आर्थिक सहयोगको याचना गरेका थिए ।

मकालु खबर डटकम लगायतका सञ्चार माध्यममा समाचार आएपछि आर्थिक सहयोग जुटाउन नरेश विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको थियो ।

समितिमा सदस्यहरू कृष्ण लिम्बु, सागर सरगम चेम्जोङ, लिलिस पोमु, कुमार प्रधान, छत्रबहादुर कालिकोटे, नरेश राई, कुमारी लिम्बू, खड्ग लिम्बू छन् ।

समितिले बालिकाको उपचारका लागि सहयोग अभियान अघि बढाएको पहिलो हप्तामा सङ्कलित उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम बराह क्षेत्रका प्रदीप ढकाल अगुवाइमा ३४ हजार ९१५ र लक्ष्मी परियार मार्फत ७ हजार ३ सयसमेत कुल ४२ हजार २९५ रुपैयाँ सिमरबन चोकमा सञ्चार कर्मीको सामु बालिकाका बुबा उमेश बिकलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

ढकालले आफूले सङ्कलन गरेका दाताको नामावली र रकम पढेर सुनाए । सोही अवसरमा अपाङ्ग पुनर्स्थापना केन्द्र धरानका निर्देशक सुनिल खड्काले बालिकाको लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने वचन दिएका छन् । उनले बिरामी र एकजनालाई दैनिक ड्रेसिङ गर्न धरान आउन चाहेमा खाने बस्ने व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

बालिकाको उपचार सरकारी अस्पतालमा गरिने तयारी भइरहेको छ । कोरोना महामारीका कारण काठमाडौँ जान आरडिटी परीक्षण गर्नुपर्ने भएकोले त्यसका लागि पहल गर्नुपर्ने कुरा सहयोग सङ्कलनमा संलग्न लक्ष्मी परियारले जानकारी दिएकी छिन् ।

चिकित्सकहरूले बालिकाको छाती पेटमा छाला टाल्नुपर्ने बताएका छन् भने छाला टाल्न र आइसियुमा राखी उपचार गर्न र औषधिसहित गरी करिब २ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *