डा. मीनेन्द्र रिजालको प्रश्नः पूँजिगत खर्चका लागि सरकारसँग पैसा कहाँ छ ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले पूँजिगत खर्चका लागि स्रोत साधन नपुग्ने गरी बजेट प्रस्तुत भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा नेता रिजालले यसरी बजेट प्रस्तुत गरेर छलफलका लागि संसद्लाई बाध्य बनाउनु लज्जा जनक कुरा भएको टिप्पणी गरे। उनले बजेटमा उल्लेख भएका योजनाहरू कार्यान्वयनको लागि सरकारसँग पैसा कहाँ छ भन्ने प्रश्न गरे।

‘तीन सय अर्व वैदेशिक रिण ल्याउँछु भन्नु भएको छ। यो पालि एक सय २१ छ। यो भन्दा अढाई गुणा बढी ल्याउँछु भन्दा विदेशी रिण त्यसै जादु भएर हुने होइन,’ उनले भनेका छन्, ‘त्यस्तै वैदेशिक अनुदान ३१/३२ बाट एकै चोटि ६० पुग्छ भन्नु भयो। यो दुईटै नहुने बित्तिकै मार कहाँ पर्छ भने तपाईंले उठाउने भनेको आन्तरिक कर्जा दुई सय २५ उठाउनु पर्ने या त पूँजिगत खर्च नहुने हुन्छ। पूँजिगत खर्चका लागि स्रोत साधन तपाईंसँग नभएपछि तपाईँले दिएको ८३ पेजको दस्ताबेजको के कम छ ? बाटो, पुल, सिँचाइ, जलविद्युत लगायतका काम गर्ने भन्नु भएको छ। ती सबै काम गर्ने पैसा तपाइसँग कहाँ छ ?’

रिजालले ८३ पेजमा औँल्याइएका कार्यक्रम कार्यान्वयनमा जाने अवस्थामा नरहेको बताए। उनले भनेका छन्, ‘मैले पहिले पनि भनेको थिएँ कि अहिले बजेट सामान्य ल्याऔँ, पछि परिस्थितिलाई आँकलन गरेर पूरक बजेट ल्याऊँला। तर हामीले भनेको सुनुवाइ नै भएन, अहिले देखाइएको स्रोतले ८३ पेजमा गर्ने भनेको काम गर्न सम्भव देखिँदैन।’

उनले नेपालको अर्थतन्त्रको २५ प्रतिशत भन्दा ठूलो मूल आधार विप्रेषण खुम्चिरहेको अवस्थामा रहेको उनले बताए। त्यसले वैदेशिक सञ्चितमा प्रभाव पार्ने उनको भनाइ छ। राजश्वमा पनि सय अर्व तलमाथि पर्न सक्ने चिन्ता रहेको रिजालले बताए। उनले पर्यटन व्यवस्था लामो समय तङ्ग्रिने अवस्था नरहेको बताए। यस्तो अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन कठिन हुने उनको भनाइ छ।

कोरोना महामारीपछि सार्वजनिक खर्चमा सुधार ल्याउनु पर्ने आवश्यकता र अवसर रहेको बेला सरकारले त्यो आँट गर्न नसकेको उनको टिप्पणी छ। रिजालले भनेका छन्, ‘सार्वजनिक खर्च पुनरावलोकनका लागि काम गर्नुभएको भए अर्को २०/२५ वर्षसम्म सम्झिने अर्थमन्त्री बन्न सक्नु हुन्थ्यो। त्यता तपाईंले हिम्मत गर्नु भएन। प्रधानमन्त्रीलाई नेपालको अर्थतन्त्र तङ्ग्राउन नेतृत्व गर्ने अवसर थियो। त्यो अवसर प्रधानमन्त्रीले प्रयोग गर्न सक्नु भएन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *