‘तत्काल कर तिर्न सकिँदैन, असार मसान्तसम्म समय देउ’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने समय असार मसान्तसम्म कायम गर्न माग गरेको छ। मंगलबार राजस्व सचिवलाई पत्र लेख्दै महासंघले आयकर, मूल्य अभिवृद्धि कर र अन्त:शूल्कको विवरण तथा कर रकम बुझाउने म्याद बढाएर असार मसान्तसम्म पुर्‍याउन माग गरेको हो।

अहिले लकडाउनका कारण अत्यावश्यक बाहेक अन्य सबै प्रकारका उद्योगहरू बन्द रहेको अवस्था छ। अहिले आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरण लगायतका आपूर्ति प्रणाली समेत कठिन अवस्थाबाट गुज्रिरहेको महासंघको भनाइ छ। सोही कारण, अहिले कर विवरण र कर रकम बुझाउन नसकिने महासंघले उल्लेख गरेको छ।

राजस्व सचिवलाई लेखिएको पत्रमा भनिएको छ, ‘लकडाउनका कारण आर्थिक कारोबार, उत्पादन, वितरण लगायत आपूर्ति प्रणाली अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ।’ आन्तरिक राजश्‍व विभागले २० जेठमा सूचना निकाल्दै २५ जेठभित्र कर तिरिसक्न निर्देशन दिएको थियो।

व्यवसायीहरूले उक्त समयमा तिर्न नसक्ने भन्दै विरोध जनाएका छन्। सबै उद्यमी व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त औद्योगिक एवम् व्यवसायीक वातावरण निर्माणमा सहयोग गर्न महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *