लकडाउनको स्वरुपबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन स्वरुप परिवर्तन गर्ने विषयमा विज्ञहरुको सुझाव लिने भएका छन्। सुझावको लागि स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ क्षेत्रका विज्ञलाई छलफलका लागि बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। छलफल दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय भएको छ।

कोरोना भाइरस रोकथाम, नियन्त्रणका उपाय, आगामी रणनीति र लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा सुझाव लिन विज्ञहरुलाई बोलाइएको थापाले बताए। छलफलमा मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना सहभागि हुने उनले जानकारी दिए।

लकडाउन कायम राखेर आर्थिक गतिविधि सुरु गर्न र दैनिक जनजीवन सहज हुनेगरी लकडाउन परिमार्जन गर्ने तयारी सरकारले अघि बढाएको छ। लकडाउनको अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर परिमार्जन गर्ने योजना बनाइएको छ। लकडाउनको स्वरुप परिमार्जनको प्रस्ताव तयार भएपछि मन्त्रिपरिषदबाट निर्णय गराइने भएको छ। उच्चस्तरीय समितिले पनि यसबारेमा विभिन्न निकायसँग छलफल गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *