रुकुम घटनाले सामाजिक संरचनाको खोट उजागर गर्‍योः मन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुकुमको सोतीमा भएको घटनाले हाम्रो सामाजिक संरचना निहित खोट उजागर गरेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा ज्ञवालीले राजनीतिक रूपमा भएको परिवर्तनको सामाजिक-सांस्कृतिक धरातल कमजोर रहेको पनि स्पष्ट भएको बताए।

उनले भनेका छन्, ‘हालै रुकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गम्भीर खोटहरू उजागर गरेको छ। राजनीतिक रूपमा उच्च रहेको हाम्रो परिवर्तनको सामाजिक-सांस्कृतिक धरातल कमजोर छ भन्ने स्पष्ट पारेको छ।’

जेठ १० गते रुकुमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको भएको थियो। मन्त्री ज्ञवालीले दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घटना भइरहनु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि चुनौती विषय भएको बताए। छुवाछुत जस्तो मानवतामाथिको कलंकलाई कानूनी रूपमा मात्रै नभएर व्यवहारमै निर्मूल गर्नुपर्नेमा उनले जोड दिए।

उनले भनेका छन्, ‘आउनुहोस् प्रण गरौं, छुवाछुत जस्तो मानवतामाथि कलंकलाई संवैधानिक र कानूनीरूपमा मात्र होइन, व्यवहारमै निर्मूल गर्ने छौं र मानव-मानवबीचका सबै खाले विभेद अन्त्य गरेर वास्तविक समानता स्थापित गर्ने छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *