भारतबाट फर्किएका भन्छन्-‘आफ्नै गाउँ परदेश लाग्यो’

सुजता लिम्बू/ 

विराटनगर । पाँचथर हिलिहाङ–२ का राजकुमार तामाङ ६१ दिनको भारत बसाई पछि नेपाल फर्केका छन् । अर्काको देशमा अत्यास लाग्दो बसाई पछि नेपाल फर्किन पाउँदा खुसी मिलेको थियो । तर आफ्नै गाउँ फर्काउन जनप्रतिनिधिले गरेको आनाकानीले आफ्नै गाउँ परदेश लागेको उनले गुनासो गरे ।

घर खर्च जोहो गर्न परिवारको उज्ज्वल भविष्यका लागि उनी करिब ४ वर्ष अगाडी भारतको हरियाणा पुगेका थिए । उनी भारतबाट सिडिएममा सम्पर्क गरेर अररिया (भारत) सम्म आएर ४ दिन क्वारेन्टाईनमा बसे । त्यसपश्चात् नेपाल–भारतको सिमाना जोगबनी हुँदै नेपाल आए ।

विराटनगर १३ स्थित डिएभी स्कुलमा सञ्चालनमा रहेको होल्डिङ क्षेत्रमा बुधवार भेटिएका राजकुमार तामाङ र उनका दुई साथी ६ दिनदेखि होलडिङ क्षेत्रमा बस्दा असुरक्षित रहेको बताउँछन् ।

कमाई जति सकियो, रित्तै घर फर्किए
१५ वर्षको उमेरदेखि भारत भित्रिएको बताउने राजकुमारको कमाई राम्रै चलिरहेको थियो । ठेलामा म.म. चाउमिन लगायतका फास्टफुडको व्यवसाय गर्ने गरेको उनी सुनाउँछन् ।

घर भाडा, आफू खाएर, परिवारको घर खर्च पनि धान्न पुग्ने कमाई हुने गर्दथ्यो । कोरोना भाइरस सङ्क्रमण, बढ्दो महामारीसँगै लकडाउनको घोषणा भएपछि उनको काम बन्द भयो ।

हरियाणामा हुँदा कोरोना भाइरसको हल्लासँगै बाँचिएला भन्ने आशा निभेको उनले बताए । उनी भन्छन् ‘६१ दिनसम्म काम नगरी अलिअलि कमाएको पैसाले किन्दै खाँदै कोठा भित्र थुनिएर बस्दा, आफूसँग भएको पैसा पनि सकियो, घर रित्तै फर्किए ।’ उनी थप्छन्, ‘नेपाल त आइयो तर आफ्नै गाउँ परदेश लाग्न थाल्यो । कोरोनाले आफ्नै गाउँ परदेश भयो । ’

पाँचथर खालेलुङका लालबहादुर लोहार गत दुई महिना अगाडी रोजगारीका लागि भारतको युपी पुगेका थिए । काम राम्रैसँग चलिरहेको थियो ।

लकडाउनको घोषणा भएसँगै काम ठप्प भयो । केही दिनसम्म कम्पनीको रेखदेखमा बसे । केही दिनपछि कम्पनीले पनि थेग्न मुस्किल भएसँगै आफ्नै देश फर्किने निधो गरेर बाटो लागेको उनले सुनाए । उनले भने ‘कम्पनीबाट नै गाडी बुकिङ गरेर पठाएकाले बाटोमा खासै अप्ठ्यारो महसुस गर्न पाइएन ।’ उनी थप्छन् ‘सँगै आएको साथीहरू आ–आफ्नो गाउँको क्वारेटाईन पुगे हामी पाँचथरका ३ जनालाई जनप्रतिनिधिले पनि आलटाल गरिरहेका छन् ।’

उनी भन्छन्, ‘गाउँ नलगे पनि सुरक्षाका लागि अन्तै विराटनगरको कुनै क्वारेन्टाइनमा बस्न पाए बाँचिन्थ्यो कि ? के गर्नु कोरोनाले आफ्नै गाउँ परदेश भयो ।’

भोट माग्दा कर्णालीको दुःख बुझ्छु भन्थे नेता खै बुझे ?

६ महिना नेपाल बस्छौँ, ६ महिना भारत जान्छौँ कर्णालीवासीको बाध्यता नै बनिसकेको चौकुनेका गणेश बहादुर शाहीले भने । उनी लगायत उनका २३ जना साथीहरू ३ महिना अगाडी भारतको फारबिसगञ्ज पुगेका थिए । घर खर्च धान्न अधिकांश कर्णाली प्रदेशका पुरुषहरू भारत नै जाने गरेको शाहीले बताए ।
भारतमा नाईट गार्डको काम गर्ने गरेको उनले बताए । ‘भएको पैसा लकडाउनले उतै खाँदै सकियो, बेखर्ची छौँ’ उनले भने ।

उनी भन्छन् ‘अर्काको देशमा के गरी बस्ने भनेर सबै साथीसँग गाडी बुकिङ गरेर बल्लतल्ल नेपाल आइपुगे पनि हामीलाई गाउँ फर्काउनका लागि हामीले बनाएका नेताले बेवास्ता गरे ।’

सुदूरपश्चिम, अछाम, कर्णाली प्रदेशको गरी २८ जना डिएभी स्कुलमा रहेको होल्डिङ क्षेत्रमा बस्दै आएका छन् । आफ्नै गाउँ पुगेर क्वारेन्टाइनमा बस्न पाए पनि आनन्दको श्वास त फेरिन्थ्यो उनी भन्छन् ।उनीहरूलाई आजसम्म जनप्रतिनिधिले वास्ता नगरेको शाहीले गुनासो सुनाए ।

उनी भन्छन् ‘भोट माग्दा कर्णालीबासी र कर्णाली प्रदेशको समस्यालाई बुझेर काम गर्छौँ भन्थे, नेताले खै हाम्रो समस्या बुझेका ?’

प्रदेश सरकारसँग समन्वय हुँदै
पाँचथर जिल्लामा हालसम्म कोरोना सङ्क्रमित नभएकाले भारतबाट आएका नेपालीहरूलाई पिसिआर जाँच गराएर मात्रै गाउँ फर्काउने प्रदेश सरकारसँग समन्वय भइरहेको हिलिहाङ गाउँपालिकाका मेयर भवानी लिङदेनले बताए । उनका अनुसार केही दिनमा विराटनगर होल्डिङ क्षेत्रमा रहेका पाँचथरका तीन युवाहरूको पिसिआर जाँच गराएर मात्रै गाउँ फर्काउने प्रदेश सरकारको निर्णय भएको छ ।

कर्णाली प्रदेशको प्रदेश सरकार र गाउँपालिकासँग विराटनगर होल्डिङ क्षेत्रमा रहेकालाई सुर्खेतसम्म ल्याउने समन्वय भइरहेको कर्णाली प्रदेश चौकुनेका वडाध्यक्ष राकेश टमाटाले मकालु खबरलाई जानकारी दिए ।

गाउँपालिकाले सुर्खेतसम्म ल्याउने र सुर्खेतबाट वडाले आ–आफ्नो गाउँको क्वारेन्टाइनमा राख्ने गाउँपालिका साथै प्रदेश सरकारसँग छलफल भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *