संविधान संशोधनका लागि अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीतः भीम रावल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले अस्वीकृत भएका पुरानै कुरा फेरि उठाउनु राष्ट्रहित विपरीत भएको बताएका छन्। निशान छापमा नक्सा राख्न संविधान संशोधन गर्न लागेका बेला अस्वीकृत कुरा उठाउनु राष्ट्रहित विपरीत भएको रावले बताए।

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘देशको अखण्डताको रक्षार्थ नयाँ नक्सा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत छ।’ सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो। उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ।

त्यसपश्चात् नेपाली काँग्रेस, समाजवादी, राजपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका छन्। निशान छापमा नक्सा राख्न संविधान संशोधन गर्न लागेका बेला अस्वीकृत पुरानै एजेण्डालाई अघि सारेर संविधान संशोधन गर्नु देशको अखण्डता विपरीत हुने रावलको तर्क छ। ‘जातीय आधारमा देश विभाजित गर्ने, विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउँदा अस्वीकृत भए,’ उनले लेखेका छन्।

मंगलबार काँग्रेसले संविधान संशोधनका लागि संसद्मा गैर सरकारी विधेयक दर्ता गराएको थियो। नेपाली काँग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता गरिएको विधेयक तत्कालीन एमालेले समर्थन नगरेपछि पारित हुन सकेको थिएन। मधेस केन्द्रित दलको माग सम्बोधन गर्न विधेयक दर्ता भएको थियो। त्यही विधेयक नेपाली काँग्रेसले मंगलबार दर्ता गरेको हो। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग राख्दै बुधबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *