लकडाउनको उल्लंघन गर्दै व्यापारीले खोल्न थाले पसल, कहाँ-कहाँ खुले आज ?

काठमाडौं । लकडाउनको समय लम्बिँदै गएपछि व्यापारीहरुले पसल खोल्न थालेका छन् । लकडाउन लम्बिँदै जाँदा सटरभाडा तथा घरखर्च जुटाउन मुश्किल भएको भन्दै काठमाडौं लगायत विभिन्न जिल्लाका व्यापारीहरुले आज (बिहीबार) बाट पसल खोल्न सुरु गरेका हुन् ।

काठमाडौंका व्यापारीहरूले सबै प्रकारका पसलहरू खुला गरेका छन् । आज बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, इन्द्रचोक, कोटेश्वर, बौद्ध लगायतका क्षेत्रका पसलहरू खुला भएका छन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

काठमाडाैं, विराटनगर, वीरगञ्जमा हिजो व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने माग राख्दै लकडाउनको विरोध गरेका थिए ।

यता साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णयपछि व्यापारीहरुले पसलहरू खुला गरेका हुन् । महासंघका अनुसार अब दैनिक ११ बजेसम्म काठमाडौंमा पसलहरु खुला गरिने छ ।

उपत्यकामा लकडाउन उल्लंघन हुन थालेपछि उता उपत्यकाभित्रका तीनवटै स्थानीय प्रशासनले छलफलका लागि बैठक बोलाएका छन् । लकडाउनलाई कसरी व्यवस्थित बनाउने र कार्यन्वयनमा लैजाने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

वीरगञ्जमा पनि चौतर्फी दबाबपछि त्यहाँको प्रशासनले बजार खोल्ने निर्णय गरेको छ । उद्योग व्यापारलाई पुनः ट्रयाकमा ल्याउन स्थानीय प्रशासन राजी भएको हो । वीरगंज उद्योग वाणिज्य संघको पहलमा जिल्लास्थित संकट व्यवस्थापन केन्द्र पर्साले तोकिएको मापदण्ड पुरा गरी जेठ २३ गतेदेखि विभिन्न समयमा बजार तथा पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ।

संकट व्यवस्थापन समितका सदस्य सचिव एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार औषधि पसल २४ घण्टा खोल्ने, बैंक तथा वितिय संस्था पनि पहिलेको नियमित समय अर्थात विहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक वीरगंज कार्यालय र बैकर्स एशोसियनलाई परिपत्र गर्ने, सिमित समयमा बैंक सञ्चालन हुँदा भीडभाड कम हुने तथा आर्थिक गविधि कम हुँदै आएको उद्योगी व्यवसायीको आग्रहपछि यस्तो निर्णय भएको हो।

त्यसैगरी, जोर दिनमा विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल खोल्न दिने निर्णय भएको छ। बिजोर दिन सोही समयमा हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवर्क्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल खुल्ने छ। खाद्य पसलहरु भने बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *