भारतमा कोरोनाः २४ घण्टामै ९ हजार बढी संक्रमित थपिए !
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ३०४ जना कोरोनाबाट संक्रमित भएका छन् ।
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख १६ हजार ९१९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ७५ जनाको मृत्यु भइसकेको छ । बुधबार एकै दिनमा भारतमा कोरोना भाइरसका २६० जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि १ लाख ६ हजार ७३७ जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ४ हजार १०७ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् । (रासस/एएनआई)