भारतमा एकैदिन २७३ को मृत्यु, संक्रमणका बिच आन्ध्र प्रदेशमा होटल र रेष्टुरेन्ट खुल्ने
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसैगरी कोरोनाबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।
त्यस्तै संक्रमणका बिच भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्ध्र प्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराको जानकारी शुक्रबार दिएका छन् । उनले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु गर्ने तयारी गरिएको शुक्रबार बिहान जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।
तर ती होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु सञ्चालन गर्दा कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पालना गरिने छ । उनको सरकारले कोभिड १९ को महामारीपछि आगामी दिनमा सञ्चालनमा आउनुपर्ने कार्यालयका लागि कोभिडबाट बच्न सकिने मापदण्डहरु निर्माण गरेको छ ।
उनले लामो समयदेखि बन्द रहेका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका साथै अरु व्यवसाय पनि खुल्ने तयारी भएको जानकरी दिए । यसका साथै बजारका अरु प्रसिद्ध मन्दिरहरु पनि खुल्ने तयारी भएको जानकारी दिए । तर विद्यालय विश्वविद्यालयहरु भने अहिले नै नखुल्ने भएका छन् ।
आज बिहान यस प्रदेशका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका प्रतिनिधिहरुसँगको अन्तर्क्रियाका क्रममा मन्त्री रावले सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसको प्रकोपका कारण गएको दुई महिना भन्दा पनि लामो समयदेखि यहाँ जारी रहेको लकडाउनका कारण सबै क्षेत्र बन्द रहेको छ । (रासस/एएनआई/सिएनआई)