कोरोना परीक्षणमा नयाँ मोडालिटीः अब लक्षण नदेखिँदासम्म जाँच नगरिने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को मोडालिटी नै परिवर्तन गरेको छ । नयाँ मोडालिटीअनुसार लक्षण नभएकालाई १४ दिन क्वारेन्टाइनमा राखेपछि परीक्षण नगरीकनै घर पठाइने छ ।

‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९’ जारी गर्दै मन्त्रालयले क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी घर पठाइने उल्लेख गरेको छ । लक्षण देखिएका संक्रमितलाई पनि १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने भएको हो ।

स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।’ आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ तर, आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन ।

अब स्पष्ट लक्षण देखिएपछि मात्र पिसिआर परीक्षण गरिने छ । आरडिटी गरेर घर पठाइएकाहरुमा पिसिआर विधिबाट गरिएको परीक्षणमा धमाधम कोरोना पुष्टि भइरहेको छ । सरकारको यस्तो नीतिले संक्रमण झन् विस्तार हुन सक्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले चेतावनी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने भनेको बताउँदै उनले भने, ‘कुनै परीक्षण नगरी घर पठाउने वा हाललाई आरडीटी मात्रै गर्ने सरकारी निर्णयले संक्रमण अझ विस्तार हुनेछ ।’

भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन् ।

हेर्नुहोस् नयाँ गाइडलाइन :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *