‘सरकारको क्षमता र इमानदारितामा प्रश्न उठ्यो’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सत्तारुढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाइरहेको आरोप लगाएका छन्। शनिवार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद रिजालले जनता कोरोना महामारीमा रहेका बेला सत्तारुढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाइरहेको आरोप लगाए।

उनले भनेका छन्, ‘सत्तारुढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्।’ नेता रिजालले सरकार असफल भएको दाबी समेत गरे। सरकारसँग काम गर्ने क्षमता र इमानदारी दुवै नभएको उनको टिप्पणी छ। बजेट आउनुभन्दा एक दिन अघि विद्युतीय गाडीलाई भन्सार नलिई छोडेकोबाट सरकार असफल भएको पुष्टि हुने उनले दाबी गरे।

उनले भनेका छन्, ‘सरकारले जसरी एक दिनअघि बिजुलीबाट चल्ने गाडी छोड्यो, यसबाट आफू निकट व्यापारीहरूलाई र आफू कमाउनेमा लागेको पुष्टि भएको छ। यो घटनाबाट सरकारको इमानदारितामा प्रश्न खडा भएको छ।’ सरकारमा बसेकाहरूले जनताको दुःख नदेखेको बताए।

राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको खबरहरूप्रति लक्षित गर्दै सांसद रिजालले भने, ‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्।’

सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको उनले बताए। अर्थ मन्त्रालयको खर्च २५ अर्बबाट ८ अर्बमा ल्याउन उनले माग गरे। ‘हाम्रो अर्थतन्त्र जसरी संकटमा फस्दै छ। सङ्क्रमण अब दश हजारभन्दा माथि जाने चिन्ता छ’, उनले भने, ‘क्वारेनटाइनमा बस्ने सबैलाई सङ्क्रमण होला भन्ने, गाउँ गाउँमा फैलेला भन्ने डर बढेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *