नयाँ रोजगारी सिर्जना गर्नु अहिलेको ठूलो चुनौतीः गोकर्ण विष्ट

काठमाडौं। सत्तारुढ दल नेकपाका सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले कोरोना भाइरस सङ्क्रमणका कारण विश्व श्रमबजारमा ठूलो चुनौती थपिएको बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा विष्टले सङ्क्रमणका कारण १५ देखि २० लाख नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको बताए।

उनले भनेका छन्, ‘नेपालको सन्दर्भमा पनि १६ देखि २० लाखसम्म रोजगारीबाट बाहिरिने अनुमान गरिएको छ। एकातिर नयाँ आउने श्रम शक्ति पनि छ। यसको व्यवस्थापन गर्नै ठूलो चुनौती छ। यसलाई उचाइबाट सम्बोधन हुने गरी सोच्नुपर्छ।’ विष्टले नेपालमा कृषिमा रोजगारीको ठूलो सम्भावना रहेकोले त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय तह र विभिन्न मन्त्रालयबिच समन्वय आवश्यक रहेको बताए।

कृषि उत्पादनमा कसरी आत्मनिर्भर हुन सकिन्छ भन्ने विषयमा सरकारले जोड दिन आवश्यक रहेको उनको भनाइ छ। उनले भनेका छन्, ‘कृषि उत्पादनमा रोजगारीका सम्भावना छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, औद्योगिक उत्पादनलाई प्राथमिकता दिने, उत्पादनमा आत्मनिर्भर बनाउने कुरामा ध्यान दिन जरुरी छ। यहाँको उत्पादनलाई संरक्षण दिन सकेनौँ भने न रोजगारीका अवसर सिर्जना हुन्छ न देशको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ। यसतर्फ गम्भीर ढंगले काम गर्न जरुरी छ।’

खान नपाउने विपन्न परिवारलाई काम गरेर खान पाउने गरी १ वर्ष अगाडि सामाजिक न्यायका रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम आएको र यो आर्थिक वर्षमा १ सय महिनामा २ लाखका लागि रोजगारी दिने व्यवस्था गरिएको उल्लेख गरे। तर सीपमूलक कार्यक्रम प्रभावकारी नबाउने हो भने उनीहरू रोजगारीबाट बाहिरिने चिन्ता रहेको बताए। विष्टले वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा उद्धार गर्न आवश्यक रहेको समेत बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *