सेक्युरिटी प्रेसका लागि छुट्टाइएको रकम कोरोना नियन्त्रणमा लगाउन सांसदको माग

काठमाडौं। नेपाली काँग्रेसका सांसद बहादुर सिंह लामा तामाङले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि छुट्ट्याइएको रकम कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने बताएका छन्। शनिवार बसेको संसद्को बैठकमा उनले तत्काल सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्नुपर्ने आवश्यकता नभएको समेत औँल्याए।

‘७० करोडको कमिशनको अडियो बाहिर आएको छ। मन्त्री आफैले डिल गरेको कुरा आएको छ,’ सांसद लामाले भने, ‘त्यो सेक्युरिटी प्रिन्टिङ प्रेसलाई अहिले राख्नुपर्ने जरुरी देखिँदैन। भवन निर्माण भइसकेपछि मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस राख्नुपर्छ। भवन निर्माण नभइसकेपछि सेक्युरिटी प्रिन्टिङ प्रेस ल्याउनुको अर्थ छैन। सेक्युरिटी प्रिन्टिङ प्रेसको बजेटलाई कोभिड –१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयलाई छुट्टाउन आग्रह गर्दछु।’

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र धराशायी भएको अवस्थामा सरकारले जुन किसिमबाट वैदेशिक ऋण र सहयोग लिने भनेको छ त्यो सम्भव नहुने उनको भनाइ छ। लामाले भनेका छन्, ‘ बजेट वैदेशिक ऋण र सहयोग लिने भनिएको छ। त्यो लिने देखिँदैन। कोरोनाले विश्वभरि नै अर्थतन्त्रलाई धराशायी बनाएको बेला विदेशबाट सहयोग र ऋण पाइन्छ भन्ने कुरामा विश्वास छैन। बजेटलाई सुधार गर्नुपर्छ।’

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका बारेमा नकारात्मक रूपमा चर्चा भएको सांसद लामाको भनाइ छ। सरकारले एमसीसीको विषयमा गम्भीर भएर विचार गर्न सरकारलाई सुझाव दिए। उनले भनेका छन्, ‘ काँग्रेसले एमसीसीलाई चाहेर फेल गर्ने वा पास गर्ने भन्ने होइन। सरकारले चाह्यो भने एमसीसी पास हुन्छ, अन्यथा हुँदैन। काँग्रेससँग एमसीसी पास गर्न बहुमत छैन। काँग्रेसको पालामा एमसीसी आएकोले काँग्रेसले राम्रो छ भन्ने गरेको मात्रै हो।’

उनले अगाडि भनेका छन्, ‘एमसीसीलाई विरोध मात्रै गरेर हुँदैन। त्यसको राम्रो र नराम्रो कुरा हेर्नुपर्छ। अरुण तेस्रो काँग्रेसको पालामा राख्न हुँदैन भनियो। पछि अरुण तेस्रो चाहियो भनेर परियोजना सुरु गरिएको छ। अरुण तेस्रोलाई जस्तो एमसीसीलाई गर्नु हुँदैन। बिजुली बेच्नको लागि बाटो बनाउनुपर्छ। कि आफैले बाटो बनाउनुपर्छ। ऋण लिँदा सर्तहरू हुन्छन्। भारत, चीनसँग ऋण लिँदा पनि सर्तहरू छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *