मेक्सिकोमा एक लाख १३ हजार संक्रमित, भारतमा ७ हजारको मृत्यु

मेक्सिको । मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसको महामारीबाट तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मेक्सिकोमा योसहित कूल संक्रमितको संख्या एक लाख १३ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको संख्या १३ हजार ५०० नाघेको छ ।

संक्रामक रोग निवारण केन्द्रका निर्देशक जोजे लुइज अलोमियाले अझै पनि एक हजार १८९ जनाको मृत्यु शंकास्पद रहेको र उनीहरुको स्वास्थ्य बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

मेक्सिकोमा एक हप्ताअघि मात्र करिब ९० हजार संक्रमित रहेका र करिब ९ हजारको ज्यान गएको थियो । तर पछिल्लो साता नयाँ संक्रमित भेटिने दरमा केही कमी आएको छ, तर संक्रमित व्यक्तिको मृत्यु हुने दरमा भने वृद्धि भएको छ ।

गत आइतबार एक साताको अवधिमा २ हजार ५०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकामा यस साता करिब ४ हजारको ज्यान गएको देखिएको छ ।

त्यस्तै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ ।

त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । कुल सङ्क्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना सङ्क्रमण मुक्त भइसकेका छन् ।

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन् । जहाँ ८२ हजार ९६८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १५२ जना सङ्क्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार ३८६ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टा भित्र परीक्षण गरिएको थियो । (रासस/एएनआई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *