ऊर्जा उत्पादनमा निजी क्षेत्र भित्र्याएपछि विद्युत् महसुल बढ्योः भुसाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई समावेश गराएर नेपाली जनतालाई महँगो महसुलमा विद्युत् उपभोग गर्न बाध्य बनाइएको बताएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा भुसालले विद्युत् विकासको आधारभूत पूर्वाधार भएकोले नाफा कमाउने संगठनको रूपमा स्थापिन नगर्न आग्रह गरिन्।

उनले विद्युत् उत्पादन राज्यले गर्नुपर्ने र लागत मूल्यमा विद्युत् उपयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिइन्। भुसालले भनेकी छन्, ‘नेपालमा प्रति युनिट विद्युत् उत्पादन लागत चार रुपैयाँ हो। बढीमा आठ रुपैयाँमा उपभोग गर्न पाउनु पर्ने हुन्छ नि। तर यहाँ त १२ रुपैयाँ तिर्नु परेको छ। त्यसकारण विद्युत् उत्पादन राज्यले गरोस्। लागत मूल्यबाट विक्री गरोस्।’

उनले विद्युतबाट निजी क्षेत्रले पाँच वर्षमा लगानी उठाउने र पच्चिस वर्ष शतप्रतिशत नाफा कमाउने गरेको बताइन्। भुसालले यस्तो सरकारी नीति राष्ट्र र जनताको हितमा नभएको बताइन्। उनले ऊर्जा मन्त्रालय अन्तरगतको विद्युत् प्राधिकरण एक व्यापारिक एजेन्सीको जस्तो काम गरिरहेको टिप्पणी समेत गरिन्।

उनले भनेकी छन्, ‘विद्युतबाट पाँच वर्षमा लगानी उठाएर पच्चिस वर्ष शत प्रतिशत नाफा खाने प्रचलन रहेको छ। उपभोगताबाट महसुल उठाएर निजी क्षेत्रलाई बुझाउने एउटा व्यापारिक एजेन्सीको जस्तो काम विद्युत् प्राधिकरणबाट भएको छ। अनि त्यही भित्र नाफा गरे भनेर कार्य सफलता देखाउने गरिन्छ। यस्तो नीतिको अन्त्य गरिनु पर्छ।’

विद्युतको उपभोग सबै भन्दा बढी नेपाली जनताले गर्नु पाउनु पर्ने उनले बताइन्। भुसालले भरपुर ढंगले सिँचाइका आयोजना पुरा नभएसम्म सिँचाइमा र खानेपानीमा निःशुल्क रूपमा जनतालाई विद्युत् उपभोग गर्न दिइनु पर्ने धारणा राखिन्। उनले राज्यले विद्युत् उत्पादन गरेर लागत मूल्यमा मात्र बिजुली बिक्री गर्नु पर्नेमा जोड दिइन्।

उनले भनेकी छन्, ‘यसलाई नाफा गर्ने संगठन बनाइनु हुन्न। अनि नेपाली जनताले जति धेरै विद्युत बाल्यो उति महँगो मूल्य तिर्नु पर्ने ? कम बाल्नेले सहुलियत पाउने ? यस्तो नीति राष्ट्र र जनताको हितको निम्ति हुन सक्दैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *